दाङ, ६ साउन ।
संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली प्रस्थान गरेका छन् । यही साउन ८ देखि १० गतेसम्म आयोजना हुने सम्मेलनमा भाग लिन प्रधानमन्त्री आज शनिबार साँझ इटाली प्रस्थान गरेका हुन् ।
प्रचण्डले इटालीमा हुने सो सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । ‘युनाइटेड नेसन्स फुट समिट प्लस टु स्टकटेकिङ मोमेन्ट’ नामक शिखर सम्मेलनका लागि नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री दाहालले औपचारिक रूपमा आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री प्रचण्डले अतिकम विकसित मुलुकको अध्यक्षको हैसियतमा सोमबार सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यसूची रहेको छ। साथै सोही विद्यालय भोजनको एजेन्डा रहेको छुट्टै सत्रलाई तथा मङ्गलबार भने खाद्य प्रणाली परिवर्तनको एजेन्डाको सत्रमा पनि अध्यक्ष राष्ट्रको हैसियतमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री प्रचण्ड विदेश भ्रमणमा रहेका बेला प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले गर्ने भएका छन् । शनिबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधानमन्त्री खड्कालाई कार्यवाहक प्रधानमन्त्री तोकेका राष्ट्रपति कार्यालयले जनाएको छ ।



