एक वर्षमा साढे १६ किलोमिटर सडक कालोपत्रे – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

एक वर्षमा साढे १६ किलोमिटर सडक कालोपत्रे

    मा प्रकाशित

प्रिया स्मृति गजमेर

लमही, ८ साउन ।

देउखुरीका तीन पालिकामा एक वर्षको अवधिमा साढे १६ किलोमिटर सडक कालोपत्रे भएको छ । आर्थिक वर्ष २०७९/०८० मा देउखुरीमा चार पालिकाहरूमध्ये लमही, राप्ती र गढवामा साढे १६ किलोमिटर सडक कालोपत्रे भएको हो ।

जसमध्ये सबैभन्दा धेरै लमही नगरपालिकामा साढे आठ किलो मिटर सडक कालोपत्रे भएको लमही नगरपालिकाले जनाएको छ । चालु आर्थिक वर्षमा पूर्वाधार विकासतर्फ २५ किलो मिटर सडक ग्राभेल, ३.७ किलो मिटर सडकको नयाँ ट्रयाक खोल्ने काम भएकोको लमही नगरपालिकाका इन्जिनियर सौगात वलीले जानकारी दिएका छन् । इन्जिनियर वलीकाअनुसार लमहीका विभिन्न वडाहरूमा ९।५ किलो मिटर पक्की नाला निर्माण गरिएको छ भने १३ स्थानमा कल्भर्ट निर्माण गरिएको छ ।

सडक कालोपत्रेका लागि लुम्बिनी प्रदेश सरकारबाट प्राप्त १ करोड ८० लाख रूपैयाँमध्ये एक करोड ६० लाख मात्रै खर्च भएको इन्जिनियर वलीले बताए । इन्जिनियर वलीले भने, ‘सडक कालोपत्रेका लागि प्रदेश सरकारबाट एक करोड ८० लाख रूपैयाँ आएको थियो । त्यसमध्ये एक करोड ६० लाखको काम भएको छ ।’

त्यसैगरी सडक निर्माणका लागि पालिकाले बिनियोजन गरेको ६ करोड बजेटमध्ये ४ करोड मात्रै काम भएको छ । गतवर्ष सडक निर्माणका क्षेत्रमा पालिकाले बजेट बिनियोजन गरेपनि काम नभएपनि यस आर्थिक वर्ष पालिकाले सडक निर्माण, स्तर उन्नतिलगायतका कामलाई प्राथमिकतामा राखेर काम गर्ने योजना रहेको लमही नगरपालिका नगरप्रमुख जोखगराज चौधरी बताउँछन् ।

‘पालिकाभित्र रहेपनि भौगोलिक बिकटताका कारण पालिकाको अनुभूति गर्न सकेका छैनन्, ती ठाउँहरूमा सडकको अवस्था सुधार गर्दै कालोपत्रे गर्ने योजना छ’, नगरप्रमुख चौधरीले भने, ‘त्यही अनुसार यो आर्थिक वर्षलाई निर्माणको वर्षका रूपमा अघि बढाउने सोचमा छौ ।’ लमहीले अघिल्लो वर्ष ६ किलोमिटर सडक कालोपत्रे गरेको थियो ।

राप्ती गाउँपालिकाले सडक निर्माणका लागि प्रदेश सरकारबाट आएको सात प्रतिशत बजेट कार्यान्वयनमा ल्याएको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताएका छन् । प्रदेशको राजधानीका रूपमा रहेको राप्ती गाउँपालिकाले सात प्रतिशत नै बजेट सडक निर्माणमा खर्च गरेको भन्दै गाउँपालिकाका अध्यक्ष विष्टले भने, ‘हामीले पालिकाबाट विनियोजन गरेका प्राय योजनाहरूको काम सबै सम्पन्न गरेका छौ, कुनै पनि योजनाहरू गर्न नसकेर रकम फिर्ता भएका छैनन् ।’

प्रदेश सरकार र राप्ती गाउँपालिकाको समपुरक बजेट अन्तर्गत ५ करोड लागतमा ४.३ किलोमिटर सडक विभिन्न वडामा कालोपत्रे गरिएको अध्यक्ष विष्टले बताएका छन् । त्यस्तै ७ किलो मिटर सडक ग्राभेल, २१ वटा कल्भर्ट निर्माण र ७ किलोमिटर पक्की नाला निर्माण भएको राप्ती गाउँपालिकाका सब इञ्जिनियर प्रदीपकुमार वैदिकले जानकारी दिएका छन् ।

त्यसैगरी गढवा गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० मा ४ किलोमिटर सडक कालोपत्रे गरेको जनाएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म नगरका विभिन्न वडामा गरेर चार किलो मिटर सडक कालोपत्रे गरिएको गाउँपालिका इन्जिनियर विनयकुमार यादवले जानकारी दिएका छन् । उनका अनुसार ७ किलो मिटर ग्राभेल, ११ वटाकल्भर्ट, ४ किलो मिटर नयाँ ट्रयाक, १ हजार मिटरभन्दा बढी पक्की नाला निर्माण गरिएको बताएका छन् ।

आफु बाहिर भएकाले बजेट भने कति खर्च भएको भन्ने बारेमा जानकारी नभएको बताएका छन् । देउखुरीका चार पालिकाहरूमध्ये लमहीनगरपालिका, राप्ती गाउँपालिका र गढवा गाउँपालिकाले भौतिक निर्माणतर्फ जानकारी दिएपनि राजपुर गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० मा सडक निर्माणतर्फको भौतिक प्रतिवेदन तयार नभएको जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्