भारु पैसाको कारोवारमा समस्या – Kanika Khabar
Monday, February 16Nepali News Portal

भारु पैसाको कारोवारमा समस्या

    मा प्रकाशित

बालाराम खड्का
तुलसीपुर,९ साउन ।

पछिल्लो समयमा सर्वसाधारण भारु पैसा लिएर किनमेल गर्न तथा भारु पैसा लिन–दिन डराउने गरेका छन् । डराउनुको कारण भने भारु रुपैयाँ पहिलेभन्दा अहिले कममा सटही हुँदा भारु रुपैयाँ लिँदा डराउनु पर्ने अवस्था आएको सर्वसाधारण बताउँछन् । नेपालमा २०४९ सालदेखि भारतीय रुपैयाँ एक सयको विनिमय दर एक सय ६० रुपैयाँ राखेको छ ।

विगत मंसिरदेखि भने भारतीय सीमानाकामा एक सय भारतीय मुद्रा (भारु) साट्दा एक सय ५० पाइरहेका छन् । पछिल्लो समय एक सय भारुलाई एक सय ५० रुपैयाँ तिर्न समेत व्यवसायी हिचकिचाउने गरेका छन् । मुद्रा कमजोर भएर सटहीमा समस्या भएपछि भारु लिएर हिँड्न समेत सर्वसाधारण डराउन थालेका हुन् ।

‘कामको सिलसिलमा सिम्ला गएको थिएँ, कमाइ गरी ल्याएको भारु पैसा नेपालमा आउँदा सामान किन्दा लिन नमान्ने र लिए पनि सटही हुँदा घटने भएका कारण समस्या भएको छ’, काम सकेर भारतबाट नेपाल आएका विक्रम केसीले भने । उनले प्र्रत्येक एक सयमा १० रुपैयाँ सटही घट्दा आफूहरू जस्ता धेरैलाई समस्या भएको बताए ।

कममा पैसा सटही हुँदा यहाँका व्यवसायी तथा स्वयम् उपभोक्तालाई समेत समस्या परेको छ । ‘काम विशेषले भारत जानुपर्ने थियो, केही भारु साथमा राखेको थिएँ तर भारत जान पाएइन, नेपालमा साट्न खोज्दा कममा सटही त्यो पनि पैसा लिन नमान्ने भएपछि समस्या भएको छ’, स्थाानीय मधुसूदन खड्काले भने । उनी जस्तै अन्य सर्वसाधारण पनि बजारम भारु पैसा लिएर सामान किन जाँदा व्यवसायीले सहज रूपमा पैसा लिन नमान्ने र लिए पनि कममा सटही हुँदा समस्या भएको गुनासो गरेका छन् ।

व्यवसायी माधव केसीले पनि आफूसँग भएका भारु नोटहरू एक सयको एक सय ५० मा साटेको भन्दै भारु रुपैयाँ पहिलेभन्दा अहिले कममा सटही हुँदा घाटा लागेको सुनाए । नेपालको व्यापारमा अहिले पनि भारतको हिस्सा ६० प्रतिशत हाराहारी भएको र स्थिर विनिमय दर राख्दा नै धेरै फाइदा भएकाले त्यसबाहेक विनिमय दर चलाउने कुरा त्यत्तिकै नहुने पनि जानकार बताउँछन् ।

त्यस्तै भारतीय सीमा नजिकै रहेको छन्दकालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्जमा धेरै भारतीय बिरामी आउने गरेका छन् । उनीहरूले भारु रुपैयाँमा औषधी उपचार गर्ने गरेका छन् । तर भारु रुपैयाँ पहिलेभन्दा अहिले कममा सटही हुँदा अस्पताललाई समस्या परेको प्रशासकीय अधिकृत जसराज विश्वकर्माले बताए ।

उनले भारु रुपैयाँ नलिने हो भने बिरामीलाई मर्का पर्ने र लिने हो भने अस्पताललाई आर्थिक नोक्सानी हुने देखिएको बताए । ‘हामीलाई पनि यसले ठुलो असर गरेको छ, कति दिन पैसा राख्ने ? सटही कममा हुन्छ, कहाँबाट यसलाई पूर्ति गर्ने भन्ने समस्या खडा भएको छ’, उनले भने । अहिले सीमानाकामा नेपाली मुद्राभन्दा भारु कमजोर हुँदा विभिन्न चर्चा भइरहेका छन् । कतिपयले नेपालको अर्थतन्त्र बलियो हुँदै गएकाले भारुको सटही दर कम भएको त होइन भन्ने आशङ्का गरेका छन् ।

‘यहाँ अनौपचारिक रूपमा आइपुग्ने भारु भारतमा पनि अनौपचारिक रूपमै रहेको हुन्छ’, एक व्यवसायीले भने । उनले अहिले पहिलो पटक यसरी भारतीय मुद्राको भाउ घटेको बताए । मुलुकभित्र अनौपचारिक अर्थतन्त्र उच्च दरमा बढेको र बजारमा आपूर्ति उच्च भएकाले भारुको भाउ घटेको केहि व्यवसायीको भनाइ छ । पहिले–पहिले अनौपचारिक कारोबारमा नेपाली मुद्रा दिएर भारु किन्नुपर्दा थप एक दुई प्रतिशत दिनुपर्ने थियो । अहिले भारुको आपूर्ति उच्च भएकाले सस्तोमा पाइन थालेको हो । भारु आपूर्ति बढ्नुमा एक नभइ विभिन्न कारण रहेको व्यवसायी बताउँछन् ।

राष्ट्र बैङ्कका विदेशी विनिमय विभाग प्रमुख तथा कार्यकारी निर्देशक रामु पौडेलका अनुसार अहिले नेपालमा एक सय भारुभन्दा माथिको नोट चल्दैन । एक सयसम्मका भारु नोट सटहीका लागि भने कुनै समस्या छैन । यसरी नोट साट्न आउनेलाई राष्ट्र बैङ्कले थप ०.७ प्रतिशत कमिशन समेत दिने गरेको छ । ‘हामीले अहिले पनि भारु किन्न डलर खर्चिनुपर्ने अवस्था छ’, पौडेलले भने, ‘यही कारण भारतीय मुद्रा साट्दा यस्तो कमिसन दिने गरेका छौँ ।’ राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७९÷०८० को ११ महिनामा मात्रै राष्ट्र बैङ्कले चार अर्ब ३० करोड डलर खर्चिएर तीन खर्ब ५१ अर्ब भारु खरिद गरेको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्