विश्व बाघ दिवस : बाघको सङ्ख्या बढाउन सफल नेपाललाई अबको चुनौती के ? – Kanika Khabar
Saturday, October 12Nepali News Portal

विश्व बाघ दिवस : बाघको सङ्ख्या बढाउन सफल नेपाललाई अबको चुनौती के ?

    मा प्रकाशित

बिबिसी
काठमाडौँ, १३ साउन ।

दश वर्षको अवधिमा झन्डै तीन गुणाले बाघको सङ्ख्या बढाउने ‘महत्त्वपूर्ण उपलब्धि’ प्राप्त गरेको नेपालको अबको चुनौती ती जनावरको उचित व्यवस्थापन र मानवसँगको द्वन्द्व कम गर्नु रहेको जानकारहरूले बताएका छन्।

सन् २००९ मा १२१ रहेको बाघको सङ्ख्या सन् २०२२ मा बढेर ३५५ पुगेको सरकारी निकायहरूले घोषणा गरेका थिए।

उक्त उपलब्धि नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय रूपमै व्यापक चर्चाको विषय बनेको थियो।

तर सङ्ख्या बढेसँगै बाघ र उनीहरूको वासस्थान रहेका स्थान आसपासमा बस्ने सर्वसाधारणबीच द्वन्द्व पनि चर्किँदैँ गएको घटनाहरू प्रकाशमा आउने गरेका छन् जसको प्रत्यक्ष प्रभाव स्थानीय समुदायमा परेको छ।

अधिकारीहरूका अनुसार पछिल्लो गणना पश्चात् वैज्ञानिक रूपमा मूल्याङ्कन नगरिएको भए पनि अप्रत्यक्ष सूचकहरूले सङ्ख्या बढ्दो क्रममा नै रहेको देखाएका छन्।

विज्ञहरू पनि पछिल्ला वर्षहरूको अवस्था र सँगसँगै मृत्युदरलाई नियाल्दा ५० देखि ६० को हाराहारीमा पछिल्लो एक वर्षमा बाघको सङ्ख्या बढेको हुनसक्ने अनुमान गर्न सकिने बताउँछन्।

त्यसका कारण आगामी दिनहरूमा बाघ र स्थानीयवासीबीच सन्तुलन कायम गर्नु नै मुख्य चुनौती हुने जानकारहरूको बुझाइ छ।

अधिकारीहरूका अनुसार नेपालमा आर्थिक वर्ष २०७८-७९ मा बाघको आक्रमणबाट २१ जनाको मृत्यु भएको थियो भने आर्थिक वर्ष २०७९-८० मा त्यो सङ्ख्या १२ थियो।

चालू आर्थिक वर्षमा बाघको आक्रमणबाट एक जनाको ज्यान गएको सरकारी तथ्याङ्कले देखाउँछ।

ग्राफिक्स

‘‘पक्कै पनि यो बाघको सङ्ख्या बढेर हो भनेर अनुमान लगाउन सकिन्छ,’’ पछिल्ला केही वर्षमा बाघबाट हुने आक्रमण तुलनात्मक रूपमा घटेको उल्लेख गर्दै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक अजय कार्कीले भने।

‘‘तर नेपालको सन्दर्भमा हामीले त्यति धेरै गहन रूपमा अध्ययन गरिसकेका छैनौँ। सङ्ख्या कति हुन्छ, हाम्रो क्षमताले कति धान्ने हो भन्ने विषयमा पनि भरपर्दो अनुमान र अध्ययन अनुसन्धान हुन सकेको छैन।’’

नेपालका प्राकृतिक वासस्थानमा कति बाघ बस्न सक्छन् भन्ने कुरा पर्यावरणीय अवस्था, मौसममा हुने परिवर्तन, प्रत्येक वर्ष फेरिने वासस्थान र सामाजिक परिस्थितिहरूले समेत असर गर्ने हुनाले उक्त विषय अनुमान गर्न कठिन भएको उनी बताउँछन्।

नेपालमा चितवन, पर्सा, बाँके, बर्दिया र शुक्लाफाँटास्थित राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रहरूमा बाघको वासस्थान छ।

एक अध्ययनका अनुसार पूर्वका दुई क्षेत्र (चितवन र पर्सा) मा १७५ वटा बाघ बस्न सक्ने देखिएको छ। पश्चिमी भेगमा भने त्यस्तो अध्ययन भई नसकेको अधिकारीहरू बताउँछन्।

तर राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता केन्द्रकी आयोजना व्यवस्थापक रचना शाहका अनुसार पछिल्लो एक अध्ययन अनुसार नेपालले अझै थप बाघको सङ्ख्या धान्न सक्ने अवस्था देखिन्छ।

कोषका अनुसार सन् २०२२ को गणना अनुसार चितवनमा बाघको सङ्ख्या १२८ देखिएको थियो भने पर्सामा ४१ वटा बाघ देखिएका छन्। एक अध्ययनले चितवनमा मात्रै २०० भन्दा बढी बाघ बस्न सक्ने उल्लेख गरेको कोषले जनाएको छ।

बाघसँगै देशको जनसङ्ख्या पनि बढ्दै गएको अवस्थामा राष्ट्रिय निकुञ्जहरूमा भएका अतिक्रमणका कारण पनि समस्या उत्पन्न भएको शाहको बुझाइ छ।

कसरी गर्न सकिन्छ व्यवस्थापन?

बाघ

तस्बिर स्रोत,DEEPAK RAJBANSHI

बाघ संरक्षणमा उल्लेख्य उपलब्धि प्राप्त गरेको नेपालका लागि अबको सबैभन्दा ठूलो चुनौती ती जनावरको व्यवस्थापन रहेको जानकारहरू बताउँछन्।

पछिल्ला दिनहरूमा सङ्ख्या बढेसँगै मानव बस्तीमै आएर बाघले स्थानीयवासी र घरपालुवा जनावरहरूलाई आक्रमण गरेका थुप्रै घटनाहरू सार्वजनिक भएका छन्।

‘‘जहाँ बाघ पाइने वन छ ती क्षेत्रका मानिसहरूको जीवनस्तर निम्न किसिमको छ जस कारण उनीहरू वनमा आश्रित छन्। जीविकोपार्जनका लागि उनीहरू वनमा पटक पटक जानुपर्ने आवश्यकता र अवस्था छ जसले गर्दा यस्ता घटना दोहोरिने गरेका छन्,’’ कार्कीले भने।

यस्ता घटना न्यूनीकरण गर्नका लागि बाघलाई मानव बस्तीमा आउन नदिने, मान्छेको वनमा निर्भरता घटाउने र मानिसहरूको आनीबानी परिवर्तन गर्ने अभियान चलाउन आवश्यक रहेको र त्यस तर्फ केही काम आफूहरूले सुरु गरिसकेको विभागको दाबी छ।

कार्कीका अनुसार सन् २०२२ मा विभागले पारित गरेको रणनीतिमा पनि यी विषयवस्तु उल्लेख छन् र चालू आर्थिक वर्षको कार्यक्रममा पनि तीनलाई प्राथमिकतामा राखिएको छ।

‘‘बाघको बानी बेहोरा बुझ्न पनि कठिन छ र त्यो परिवर्तन गर्न पनि कठिन छ। मान्छेको बानी बेहोरा तुलनात्मक रूपमा बुझ्न पनि सहज छ र त्यसलाई परिवर्तन गर्न पनि सहज छ। हामी इन्टरभेन्सन (हस्तक्षेप) गर्न सक्छौँ। त्यसो भएर हामीले अहिले इन्टरभीन गर्ने भनेको मान्छेको बिहेभिअर (आनीबानी) परिवर्तन गर्ने अभियान। त्यो कार्यक्रमलाई धेरै प्राथमिकतामा राखेका छौँ।”

बाघलाई बस्तीसम्म आउनबाट कसरी रोक्ने?

बाघ

विज्ञहरूका अनुसार बाघ र मानिसहरूबीचको द्वन्द्व रोक्नका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा प्राकृतिक वासस्थानको उचित व्यवस्थापन हो।

हाल नेपाल सरकारदेखि विभिन्न दातृ निकाय तथा गैर सरकारी संस्थाका कार्यक्रममा उक्त विषयलाई केन्द्रमा राखिएको कार्की बताउँछन्।

वासस्थानबाहेक आहार प्रजातिका जनावरको सङ्ख्या वृद्धि अर्को महत्त्वपूर्ण विषय हो।

‘‘आहार प्रजातिका जनावर पूर्व र पश्चिममा नै फरक पर्छ। त्यसको व्यवस्थापन गर्ने कार्यक्रम पनि हामीले ल्याएका छौँ,’’ कार्कीले भने।

शाहका अनुसार आहार पर्याप्त मात्रामा नपाउँदा बाघ वन बाहिर निस्कने सम्भावना बढी रहन्छ। चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा आहार प्रजातिको जनावरको सङ्ख्या पनि पर्याप्त रहेको देखिएको उनी बताउँछिन्।

तर नजिकै मानव बसोबासका कारण नै बेलाबेला बाघको आक्रमणमा मानिसहरू पर्ने गरेको उनको बुझाइ छ।

त्यस्तै संवेदनशील स्थानहरूमा रहेका मानव बस्तीमा जनावर नआऊन् भनेर तारबार गर्ने कामहरू पनि गरिएको सरकारी दाबी छ।

‘‘मानिसहरूको जीवनस्तर उकास्ने गरी सिपमूलक तालिमहरू दिने, जीविकोपार्जनका विभिन्न वैकल्पिक उपायहरू सुझाउने गरी सिपमूलक कार्यक्रमहरू सर्वसाधारणहरू समक्ष पुर्‍याइएको अवस्था छ,’’ कार्कीले भने।

शाह पनि सबैभन्दा महत्त्वपूर्ण पाटो जनचेतना नै रहेको बताउँछिन्।

‘‘निकुञ्जहरूमा नछिर्ने, सामुदायिक वनमा पनि निश्चित समयमा मात्रै जाने, जति पनि मापदण्डहरू छ सबै पालना गर्ने हो भने एउटा हदसम्म यो द्वन्द्व हामीले पनि कम गर्न सक्छौँ,’’ उनले थपिन्।

बाघबाट हुने आक्रमणका घटनाहरू बढ्दो क्रममा रहे पनि पारिस्थितिक प्रणालीको सन्तुलन कायम गर्नका लागि पनि बाघको सङ्ख्या वृद्धि गर्नुको विकल्प भने नभएको संरक्षणमा जुटेका अधिकारी तथा विज्ञहरू बताउँछन्।बिबिसीबाट

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्