यपपालिकाे वर्षात : जिल्लालाई धान्ला त दाङमा फल्ने धानले ? – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

यपपालिकाे वर्षात : जिल्लालाई धान्ला त दाङमा फल्ने धानले ?

    मा प्रकाशित

खेमराज रिजाल
दाङ, १४ साउन ।

मध्यसाउनमा प्रचण्ड गर्मी छ । आकाशमा दिनभर बादल छैन । सक्रीय मनसुन अझै सुरु भएको छैन । अतिवृष्टि, अनावृष्टि र खण्डवृष्टिको चपेटोमा छटपटाइरहेको छ, दाङ । दाङका अझै पनि ४० प्रतिशत किसानको मानो फालेर मुरी भित्राउने धोको पूरा हुन सकेको छैन । बिहानैको सिमसिमे पानीमा हलो–जुवा काँधमा लिएर खेत पस्ने किसान खाना खाने बेला निराश भएर फर्कनु परेको अवस्था छ । कारण पर्याप्त बर्सात नहुँदा आकाशे खेतीको भरमा रहेका धानखेत अझै बाँझै छन् ।

शुक्रवार बिहानै सवासात बजे दुधरासको चिया पसलमा स्थानीय मेघराज रेग्मी बिबिसी नेपाली सेवा सुनिरहेका थिए । ‘रसियाले गहूँ निर्यात रोक्ने भन्छ, इण्डियाले चामल रोके हामी दङालीले उत्पादन गरेको धानले हामीलाई खान पुग्छ ?’, सुन्दै गरेको रेडियो बन्द गरेर उनले यस संवाददातालाई प्रश्न गरे । मैले तत्काल जवाफ फर्काउन सकिनँ । यति मात्रै भनेँ, ‘पछि भनौँला है ।’

हो साच्चै युक्रेन—रसियाको जारी सशस्त्र युद्धका कारण रसियाले कुनै पनि मुलुकमा खाद्यान्न निर्यात नगर्ने चेतावनी दिएपछि संयुक्त राष्ट्रसङ्घ पनि अत्तालिएको छ । राष्ट्रसङ्घले त्यस्तो निर्णय फिर्ता लिन रसियालाई आग्रह गरिरहेको छ । यही सन्दर्भमा नेपालमा फेरि अर्को कानेखुसी सुरु भएको छ, भारतले चामल निर्यात रोक्ने रे ।

भारतले चामल रोके नेपालमा समस्या होला त ? हो पक्कै पनि समस्या हुन्छ तर मेसो मिलाए नेपालमा उत्पादन हुने अनले नेपालीलाई भने करिब–करिब पुग्छ । त्यसका लागि बाँझो खेतमा रोपाइँ हुनुपर्ने शर्त छ, सरकारको तर बाँझो खेतमा रोपाइँ हुनका लागि सिचाइँ सुविधाका लागि भने सरकारी आयोजना पर्याप्त छैनन् । दाङ जिल्लामा अझै पनि ४० प्रतिशत धान खेतमा सिँचाइ सेवा उपलब्ध हुन सकेको छैन । यसैले त मध्यसाउनसम्म पनि रोपाइँ चलिरहेको छ ।

मेघराजको प्रश्नतर्फ जाँदै छु । दाङ जिल्लामा धानको उत्पादन, आवश्यकता र खाद्यान्नमा दाङ आत्मनिर्भर छ वा छैन भन्ने जिज्ञासा मेटाउन कृषि ज्ञान केन्द्रतर्फ लाग्दैछु । दाङ जिल्लामा उत्पादन हुने सबै अन्न यही उपयोग भएमा त्यसबाट केही अन्न बचत हुने कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ तर दाङबासीले मकै र गहूँ आफै उपभोग नगरी बाहिर बेच्ने प्रचलन छ । जसका कारण यहाँ उत्पादित धानले मात्र यहाँको मागलाई सम्बोधन गर्न सक्ने छैन ।

अर्को कुरा यहाँका जमिनदारले पनि आफूलाई पुग्ने धान भकारीमा भरेपछि बाँकी धान खलैबाट बेच्ने चलन पनि छ । यहाँका राइसमील किसानले धान स्याहार्ने समयमा खलैसम्म पुगेर धान खरिद गर्ने गरेका छन् । त्यो धान भने दाङभन्दा धेरै अन्य जिल्लामा निर्यात हुन्छ । त्यही कारण दाङबासीले फेरि छिमेकी जिल्ला कैलाली, बर्दिया, कपिलवस्तु तथा रूपन्देहीको चामल समेत उपभोग गर्नुपर्ने बाध्यता रहेको कृषि ज्ञान केन्द्रको अनुभव छ ।

अब तथ्याङ्कमै जाऔँ । कृषि ज्ञान केन्द्रका प्रमुख शिशिरराज लामिछानेका अनुसार दाङ जिल्लामा ३९ हजार ४ सय हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । यसबाट करिब एक लाख ५४ हजार मेट्रिक टन धान उत्पादन हुने गरेको छ । यो गत वर्षको तथ्याङ्क हो । धानलाई चामल बनाउँदा जम्मा ८० हजार मेट्रिक टन हुन्छ । त्यति चामलले दाङबासीलाई वर्षभरि खान पुग्दैन । यसले करिब–करिब ७० प्रतिशत माग मात्र सम्बोधन गर्दछ । दाङबासीलाई वार्षिक एक लाख ३४ हजार ५ सय ६८ मेट्रिक टन खाद्यान्न आवश्यक पर्दछ । हिस्सा चामल नै हो ।

‘दाङबासीले यहाँ उत्पादन भएको सबै खाद्यान्न उपभोग गर्ने भए हामी खाद्यान्नमा आत्मनिर्भर हुन सक्थ्यौँ तर यहाँ उत्पादन भएको मकैको ठुलो हिस्सा बाहिर निर्यात हुने गरेको देखिन्छ’, कृषि ज्ञान केन्द्रका प्रमुख लामिछानेले भने । पछिल्लो समयमा समयमा मनसुन नहुनु, सिँचाइको पर्याप्त सुविधा नहुनु तथा किसानलाई आवश्यकता अनुसार रासायनिक मल उपलब्ध नहुँदा अपेक्षा अनुसारको उत्पादन हुन सकेको छैन ।

यो वर्ष उत्पादन कति हुने भन्ने अनुमान अहिल्यै गर्न सकिँदैन, किनकि अझै पनि ५० प्रतिशत खेतमा रोपाइँ हुन सकेको छैन । आकाशे पानीका भरमा रहेका ती खेतमा मङ्गलवारको बर्सातपछि मात्रै रोपाइँ सुरु भएको कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार अबको एक साताभित्र दाङ जिल्लामा सबै खेतमा रोपाइँ भइसक्ने छ ।

सिम्ठारो, बिन्देस्वरी र तिल्की रहेनन्

परापूर्वकालदेखि दाङ जिल्लामा परम्परागत खेती हुँदै आएको सिम्ठारो एकादेशको कहानी भएको छ । पछिल्लो दशक बिन्देस्वरी अन्त भएको दशक हो । अबको पालो तिल्की धानको देहावशान । धेरै समय लाग्ने, पानी प्रशस्त चाहिने र थोरै फल्ने भएकाले तिल्की खेती प्रायः दाङमा दुर्लभ भएको किसानले बताएका छन् । प्रतिकठ्ठा चार मुरी हाइब्रिड धान उत्पादन हुन्छ भने तिल्की एक मुरी मात्रै ।यसैले रोप्न छाडियो तिल्की धान । पछिल्लो समयमा कृषिमा आधुनिकीकरणसँगै आयातीत हाइब्रिड बिउका कारण रैथाने धान हराउँदै छन् । नेपाल सरकारले स्थानिय जातका धानको बिउ सिफारिस गरे पनि किसानले बढी उत्पादनको आशामा हाइब्रिड धानको खेतीलाई प्राथमिकता दिन थालेका छन् ।

जानकारका अनुसार पछिल्लो समयमा दाङ जिल्लामा सबैभन्दा बढी उत्पादन हुने भनिएको युएस–३१२ हाइब्रिड धान खेती सबैभन्दा बढी हुने गरेको छ । त्यसपछि सुख १, सुख्खा २, सुख्खा ३, सुख्खा ४, रामधन, लोकनाथ, गोरखनाथ, माछापालन, राधा ४, चैते ५, सम्पूर्ण, साबित्री, सावाँ मन्सुली र केही मात्रामा तिल्की धानको खेती हुने गरेको छ । यी धान खेती सुरु भएपछि जिल्लामा धानको उत्पादन पनि तेब्बर वृद्धि भएको कृषि विज्ञले बताएका छन् ।
मललाई मरिहत्ते छैन

गत साल एक बोरा रासायनिक मलका लागि जिल्ला प्रशासन कार्यालयमा धर्ना दिन र स्थानीय सरकारकहाँ धाउनुपर्ने किसानले यसपालि भने गत सालभन्दा केही सहज रूपमा रासायनिक मल पाए । सुरुआती दिनमा मल पर्याप्त पाउन नसके पनि खेत रोप्ने बेला कुनै न कुनै माध्यमबाट यहाँका किसानले अनुदानको मल पाएरै छाडे । कसैले मनसुनमै पाए, कसैले भनसुनमै केही पछि पाए, कसैले गहूँ तोरीलाई समेत रासायनिक मलको जोहो गरिसकेको भनेर स्वयम् किसान टीकाटिप्पणी गर्छन् ।

विगत एक एकदशकदेखि सरकारले किसानलाई समयमा पर्याप्त मात्रामा अनुदानको रासायनिक मल उपलब्ध गराउन सकिरहेको थिएन तर यो वर्ष भने यसमा अधिक्तम सुधार भएको छ । यो वर्ष भने जिल्लामा गत सालभन्दा निकै बढी रासायनिक मल आएको कृषि सामग्री कम्पनी लिमिटेड तुलसीपुरका प्रमुख तीर्थ न्यौपानेले गोरक्षलाई बताए । कृषि सामग्री कम्पनीभन्दा साल्ट ट्रेडिङले झनै बढी रासायनिक मल बिक्री वितरण ग¥यो, यो वर्ष । यद्यपि किसानले भने अझै पनि पर्याप्त मल नपाएको गुनासो गर्दै आएका छन् । यो किसानको स्वभाव पनि हो ।

कार्यालय प्रमुख न्यौपानेका अनुसार गत साल तुलसीपुर कृषि सामग्रीले करिब एक हजार ६ सय चार मेट्रिक टन युरिया बिक्री वितरण गरेकोमा यो वर्ष एक हजार ९ सय ३८ मेट्रिक टन बिक्री वितरण गरेको छ । गत साल डिएपी ७ सय ५६ मेट्रिक टन बिक्री वितरण गरेकोमा यो वर्ष एक हजार २ सय मेट्रिक टन बिक्री वितरण गरेको छ । पोटासको बिक्री वितरण पनि त्यही मात्रामा बढेको छ । घोराही क्षेत्रमा पनि साल्ट ट्रेडिङ कम्पनी लिमिटेडले युरिया र डिएपी गत सालको तुलनामा दोब्बर बिक्री वितरण गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्