बारको अनुरोध प्रधानन्यायाधीशलाई : पूर्ण स्वचालित प्रणालीमार्फत पेशी तोक्नुहोस् – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

बारको अनुरोध प्रधानन्यायाधीशलाई : पूर्ण स्वचालित प्रणालीमार्फत पेशी तोक्नुहोस्

    मा प्रकाशित

काठमाडौँ, १४ साउन ।
पूर्ण स्वचालित प्रणालीमार्फत पेशी तोक्न नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीशलाई आग्रह गरेको छ । आज आइतबार एक विज्ञप्ति जारी गरी बारले प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई पूर्ण स्वचालित प्रणालीमार्फत पेशी तोक्न अनुरोध गरेको हो ।

कार्की न्यायाधीश रहँदा बनेको समितिले न्यायापालिकामा हुनसक्ने विकृति, अनियमितता र भ्रष्टचार तथा त्यसको रोकथामका लागि चाल्नुपर्ने उपायबारे सुझाव दिएको थियो ।

`यहाँको नेतृत्व र नेपाल बार एशोसिएशन समेतको संलग्नतामा न्यायपालिकामा हुन सक्ने विकृति, विसंगति, अनियमितता र भ्रष्ट्राचार एवम् विचौलियाहरुबाट हुन सक्ने क्रियाकलापहरु र त्यसको रोकथामका लागि चाल्नुपर्ने उपाय सहितको प्रतिबेदनको कार्यान्वयन गर्न र स्वतन्त्र न्यायपालिकाको रक्षार्थ हामीले लामो आन्दोलन समेत गर्नु परेको यथार्थता सम्माननीयज्यूलाई अवगत भएकै विषय हो ।

नेपाल बार एशोसिएशनको १५ औं राष्ट्रिय सम्मेलन तथा मिति २०७९ फागुन १३ र १४ गते वीरगंजमा सम्पन्न केन्द्रीय कार्यकारिणी परिषद्‌को ४८ औं बैठकको निर्णय बमोजिम जारी घोषणापत्रको प्रकरण नम्बर १ मा पूर्ण स्वचालित प्रणाली (Fully Automated System) मार्फत पेशी व्यवस्थापन गर्न सम्मानित सर्वोच्च अदालतलाई आग्रह गर्दै सो प्रतिवेदनलाई अविलम्ब कार्यान्वयनमा ल्याउन प्रभावकारी कदम चाल्न यस एशोसिएशनलाई निर्देश गरे बमोजिम सम्माननीयज्यूलाई ध्यानाकर्षण गराई सकिएको व्यहोरा अवगत नै छ । सम्माननीयज्यूको कार्यकाल अत्यन्त छोटो रहेको परिप्रेक्षमा उल्लिखित प्रतिवेदन कार्यान्वयनको प्रक्रिया तत्काल शुरु गर्नुपर्ने टड्कारो आवश्यकतालाई मध्यनजर गर्दै उक्त प्रतिवेदनलाई सर्वोच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट) ले स्वामित्व ग्रहण गरी यथाशीघ्र कार्यान्वयनको प्रक्रिया सुरुवात गर्न, गराउन हार्दिक अनुरोध गर्दछौं ।

सर्वोच्च अदालतको प्रधान न्यायाधीश पद पुनः २०८० साउन २० गतेदेखि रिक्त हुन गईरहेको छ । यसै सन्दर्भमा सर्वोच्च अदालतको प्रधान न्यायाधीश नियुक्ति सिफारिस गर्न संवैधानिक परिषद्‌को बैठक यथाशिघ्र राखी प्रधान न्यायाधीश नियुक्तिको वातावरण बनाउनुकोसाथै सर्वोच्च अदालत लगायत सबै तहका अदालतहरुमा रिक्त रहेको न्यायाधीश नियुक्ति प्रक्रियालाई नेपाल बार एशोसिएशनको ४८ औं केन्द्रीय कार्यकारिणी परिषद्को बैठकको निर्णय समेतलाई मध्यनजर गरी तत्काल निष्कर्षमा पुयाउनकोलागि समेत सम्माननीयज्यूको पुनः ध्यानाकर्षण गराउँदछौ ।´ जारी विज्ञप्तिमा उल्लेख छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्