हेमराज शर्मा
दाङ, १७ साउन ।
दाङमा आँखा पाक्ने रोग फैलिएको छ । रोग फैलिएसँगै बिरामीको संख्या पनि बढेकोे छ ।
कन्जनटिभाइटिस भाइरसबाट लाग्ने सरूवा रोगका कारण राप्ती आँखा अस्पताल तुलसीपुरमा दैनिक ५ सय २१ जना, लमही आँखा अस्पतालमा दैनिक ३ सय १३ जना आँखा र उपचार केन्द्र भालुवाङमा दैनिक ८० जना जति बिरामी आउने गरेको लमही आँखा अस्पताल देउखुरीले दिएको जानकारी दिएको छ ।
यस्तै राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँमा रहेको तिलगंगा सर्जिकल आँखा केन्द्रमा दैनिक ४५ जना बिरामी आउने गरेको केन्द्रका इन्चार्ज विमल बुढा क्षेत्रीले जानकारी दिए ।
रोगका कारण आँखा पाकेर बढी मात्रामा केटाकेटीहरू अस्पताल आउने गरेका छन् । आँखा रातो हुने, चिलाउने, आँखाबाट रगत मिसिएको आँसु आउने, ज्वरो आउने, घाँटी दुख्ने लगायतका लक्षण आँखा पाक्ने रोगमा देखिने इन्चार्ज बुढा क्षेत्रीले बताए ।
सङ्क्रमणबाट बच्न सङ्क्रमित व्यक्तिको नजिक नबस्ने, भिडभाडमा नजाने, बिरामीले प्रयोग गरेका औषधि, रुमाल, फोन, सिरानी तथा बेड प्रयोग नगर्ने, औषधि प्रयोग गरेपछि हातधुने र आँखा नछुने तथा चश्माको प्रयोग गर्नुपर्छ भने भिडभाडमा जाँदा चस्माको प्रयोग गर्ने र आँखा अस्पतालमा चेकजाँच गराउन इन्चार्ज बुढा क्षेत्रीले सुझाव दिए ।


