काठमाडौँ, १९ साउन ।
प्रधानमन्त्री पुष्पकमल दाहालले एक क्विन्टल सुन तस्करीको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) बाट गर्न निर्देशन दिएका छन् । सुन तस्करी प्रकरण संगठित अपराध र अन्तर्देशीय अपराध भएकोले त्यसको जरैसम्म पुग्ने गरी प्रहरीमार्फत अनुसन्धान गर्न प्रधानमन्त्री दाहालले निर्देशन दिएका हुन् ।
अन्तरदेशीय संगठित अपराध अनुसन्धानका लागि सीआईबी प्रहरीको विशिष्टीकृत निकाय भएकाले ब्युरोमार्फत थप अनुसन्धान अघि बढाउन प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएका छन्।
उच्च सरकारी स्रोतका अनुसार, बिहीबार साँझ गृहमन्त्री नारायणकाजी श्रेष्ठ, रक्षामन्त्री पूर्णबहादुर खड्का, महान्यायाधिवक्ता दिनमणि पोखरेल, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सीआईबी प्रमुख किरण बज्राचार्य र राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाबीच बसेको बैठकपछि थप अनुसन्धान सीआईबीमार्फत गर्न प्रधानमन्त्री दाहालले निर्देशन दिएका थिए ।
यो प्रकरणमा भन्सारका अधिकृतसहित तीन कर्मचारी, बेल्जियन, भारतीय र चिनियाँ गरी तीन विदेशी नागरिकसहित १८ जना पक्राउ परिसकेका छन् । साउन ३ बाट सुरु यो अनुसन्धान तस्करीका मूल नाइकेसम्म पुग्न सकेको छैन ।


