घोराही, २१ साउन ।
घोराहस्स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी सेवा सुरु भएको छ । युरोलोजीष्ट सर्जन डा प्रबोध रेग्मीले सो सेवा दिनु हुने भएको हो ।
प्रतिष्ठानमा अवदेखि युरोलोजी सेवा पनि बिरामीलाई दिन थालेको प्रतिष्ठानका अस्पताल प्रशासक समेत रहनु भएका डेपुटी रजिस्ट्रार झंकार लामिछानेले जानकारी दिनुभएको छ । उहाँका अनुसार युरोलोजी सेवाअन्तरगत पिसाब सम्बन्धि सबै, प्रोष्टेड र किड्नीमा परेको पत्थरी, पिसावको नली, थैलीको पत्थरी, अण्डकोषमा मासु पलाएको, सुन्निएको, पिसाव पोल्नेलगायतका विभिन्न सेवाहरु विरामीले प्रतिष्ठानमा पाउने डा रेग्मीले बताउनुभयो ।
अस्पतालका निमित्त निर्देशक तथा जेष्ठ नागरिक रोग विशेषज्ञ डा रमेश कडेलले युरोलोजी सेवा थप भएको र अब बिरामीले स्थानीयस्तरमै सहजरुपमा विशेषज्ञ सेवा प्राप्त गर्न सक्ने बताए । डा रेग्मी आज नै अस्पताल पुगेर हाजिर भएको प्रतिष्ठानले जनाएको छ । लामोसमयदेखि युरोलोजी सेवा दिन थाल्नु भएका रेग्मी अनुभवी चिकित्सकका रुपमा परिचित छन् ।
डा रेग्मीलाई प्रतिष्ठानका शिक्षाध्यक्ष डा बसन्त लामिछाने, अस्पताल निमित्त निर्देशक डा कडेल, सहायक निर्देशक डा एन्जिलिका कार्की, अस्पताल प्रशासक लामिछानेसहित चिकित्सक र कर्मचारीले स्वागत गरेका थिए । त्यस्तै एमजिडिपिमा प्रोफेसर डा नारायणसिंह गुरुङ, सर्जरिमा एशोसियट प्रोफेसर डा सुर्यमान गुरुङले पनि सेवा सुरु गर्नुभएको छ ।


