दाङ, २८ साउन ।
दाङको पत्रे खोलाले खोलाले एक मानिस बगाएर बेपत्ता भएका छन् । जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर ११ झमरे निवासी ६४ वर्षीया तिलकराम बिकलाई पत्रे खोलाले बगाउँदा बेपत्ता भएका हुन् ।
बिकलाई आज बिहान ८ः३० बजेतिर खोलाले बगाएको हुन सक्न जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजनकुमार गौतमले बताएका छन् । सधैं पत्रे खोलाको किनारमा शौच गर्न जाने बिक आज बिहान पनि ८ः३० बजे शौचका लागि गएको तर अबेरसम्म घर नफर्केपछि घरका अन्य सदस्य खोज्न जाँदा शौच गर्ने स्थानमा बिकको छाता, चश्मा र लठ्ठी मात्र फेला पारेपछि घरपरिवारले प्रहरीलाई खबर गरेका थिए ।
खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट बेलझुण्डी , इलाका प्रहरी कार्यालय नारायणपुर, इप्रपा मलवारका गरी १७ जनाको टोलीले खोजी कार्य सुरु गरेको छ । त्यस्तै जिल्ल प्रहरी कार्यालय दाङबाट इन्सपेक्टर मीरा खड्काको नेतृत्वमा ११ जनाको टोली खोजी कार्यमा संलग्न भएको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।
पानीको बहाव बढ्दै गएका कारण खोजी कार्यमा कठिनाई भएको प्रहरीले जनाएको छ ।


