काठमाडौं, २९ साउन ।
नेपाली कांग्रेसले अवैध सुन प्रकरणकाे अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाटै हुनुपर्नेमा जाेड दिएकाे छ ।
आज साेमवार बसेको नेपाली कांग्रेसको संसदीय दलको बैठकले झन्डै एक क्विन्टल सुन तस्करी प्रकरणको छानबिन सरकारी निकायबाटै हुनुपर्नेमा जाेड दिएकाे हो ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सत्तारूढ दल नेपाली कांग्रेसकै केही नेताले उच्चस्तरीय समिति बनाउनुपर्ने माग गरिरहेको बेला कांग्रेसले आधिकारिक रूपमै छानबिन समिति गठन आवश्यक नभएको र सीआईबीले नै अनुसन्धान गर्ने जनाएको हो ।
बैठकका निर्णय सार्वजनिक गर्दै प्रमुख सचेतक रमेश लेखकले तस्करी र भ्रष्टाचारजस्ता विषयको अन्त्य हुने गरी सरकारले काम गर्नुपर्ने बताए । ‘सुन तस्करी प्रकरणमा जो सुकै संलग्न भए पनि कारबाही गर्नुपर्छ । सरकारी निकायले नै छानबिन गरिरहेकाले जोसुकै भए पनि कानुनी अभियोजन गर्नुपर्छ र सीआईबीले नै छानबिन गर्नुपर्छ’, लेखकले भने ।


