दाङ, ३० साउन ।
सरकारले जग्गाको कित्ताकाट खुला गरेको छ । सरकारले रोकिएको भू–उपयोग नियमावली पारित गरेसँगै जग्गाको कित्ताकाट खुला भएको हो ।
आज मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले भू–उपयोग नियमावली स्वीकृत गरेको र यसबाट जग्गाको कित्ताकाट खुला भएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए । नियमावली पारित भएसँगै रोकिएको कित्ताकाट, नामसारीलगायत सबै काम खुला भएको उनले बताए ।
भू-उपयोग नियमावलीले जमिनलाई कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी, खोला, ताल, सिमसार सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र र सरकारले तोकेको अन्य क्षेत्र भनेर वर्गीकरण गर्न सक्ने व्यवस्था भएको थियो । सोही नियमावलीमा सरकारले कृषि र गैरकृषि जमिन नछुट्याई निश्चित वर्गीकरण नभएका जग्गाको कित्ताकाट नहुने व्यवस्था गरेको थियो । यो व्यवस्थापछि मुलुकभरको जग्गाको कित्ताकाट प्रभावित बनेको थियो ।
यो व्यवस्थाका कारण जग्गा खरिद-बिक्रीमात्रै नभएर अंशवण्डामै असर पर्ने भएपछि स्थानीय तहले भू-उपयोग परिषद्बाट आफ्नो क्षेत्रका जमिनको वर्गीकरण थालेका थिए ।


