अब टरिगाउँमा एयरपोटबाट हप्तामा तीन दिन उडान – Kanika Khabar
Monday, February 16Nepali News Portal

अब टरिगाउँमा एयरपोटबाट हप्तामा तीन दिन उडान

    मा प्रकाशित

बालाराम खड्का
तुलसीपुर, ७ भदौ ।

कहिले यात्रु अभाव त कहिले जहाज अभावको समस्या झेल्दै आएको तुलसीपुरस्थीत टरिगाउँ विमानस्थलमा नियमित उडान हुन सकेको छैन । करिव ४ महिनादेखि बन्द भएको टरिगाउँ विमानस्थलमा फेरि केही दिनदेखि भने सञ्चालनमा आएको छ ।

टरिगाउँ विमानस्थलमा कुनै बेला नेपाल वायुसेवा निगम र निजी विमान कम्पनी सीता एयरले उडान भर्दै आएका थिए । तर पछिल्लो समयमा नेपाल वायुसेवा निगमका विमानहरुको अभाव र अन्य स्थानमा यात्रुहरु बोक्ने गरेका कारण यहाँ विमान आउन सकेका थिएनन् । पछिल्लो केहि साता टरिगाउँ विमान स्थलमा उडान सुरु भएपनि प्रयाप्त यात्रुहरु नहुँदा उडान भने प्रभावित हुने गरेको छ । चार महिनाअघिसम्म नियमित नेपाल वायु सेवा निगमको १९ सिटे ट्वीनअटर हप्तामा ४ दिन तुलसीपुरमा उडान भर्ने गरेको थियो ।

आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान हुने गरेको थियो । हाल टरिगाउँमा इन्धन डिपो स्थापना भइ सञ्चालनमा पनि आइसकेको छ । तर भाडा भने घट्न सकेको छैन । हाल हप्तामा आइतवार, बुधवार र शुक्रवार उडान हुने गरेपनि मौसम तथा अन्य कारणले गर्दा कहिले काही समस्या हुने गरेको दाङ नागरिक उड्डयन कार्यालय तुलसीपुरका प्रमुख चेतराज भट्टले जानकारी दिएका छन् । यात्रु भए हप्तामा ३ दिन उडान हुने गरेको उनले बताए । ‘म पनि भरखर यहाँ आएको छु, अघिल्नो हप्ता जहाज आएको थियो’,उनले भने,‘यो हप्ता आइतवार पनि उडान भएको छ । यात्रु भए अन्य दिनपनि उडान हुन्छ ।’

भट्टले यात्रुहरुको अभाव र भाडा महंगो भएकाले पनि नियमित उडान हुन नसकेको बताउँछन् । तर नियमित जहाज नआउँदा यात्रुहरुले समस्या भएको बताउँछन् । सिता एयरले भने एकपटक यहाँका यात्रुहरु नेपालगञ्ज लगेर माउण्टेल फलाइट गरेपछि त्यस दिनदेखि उडान भर्न छोडेको छ । तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विमल रिजालले नियमित उडान नहुँदा यात्रुहरु नपाउने समस्या आएको बताए । ‘सिता एयरले एक पटक यहाँका यात्रुहरुलाई नेपालगञ्ज लगेर छाडेपछि उडान भर्न रोकेको छ’,उनले भने,‘नियमित उडान हुने र भाडादरमा कम गर्न सके यात्रु पाउन खासै समस्या हुँदैन ।’ । उनले यात्रु अभाव भन्ने कुरा गलत भएको भन्दै नियमित उडान भए प्राप्त यात्रुहरु पाइने बताए ।

त्यस्तै तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले नियमित उडान नहुँदा यात्रुहरु बाहिर जिल्ला गएर प्लेन चढ्नुपर्ने भएको बताउँछन् । ‘पहिले नेपाल वायुसेवा निगमका विमानहरु थिएनन् ग्राउण्डेट भएका थिए,तर अहिले एउटा नियमित आउछ । त्यो पनि हप्तामा तीन दिन मात्र हो’, उनले भने । विमान कम्पनीहरुले अन्य स्थानमा बढी भाडा हुने भएकाले यहाँ हुने उडान कटाउने गरेको बताएको छ । कहिले जहाज आउने कहिले नआउने भएपछि धेरै जसो यात्रुहरु नेपालगञ्ज पुगेर जहाज चढ्नुपर्ने बाध्यता छ ।

हाल तुलसीपुरदेखि काठमाडौका लागि ८ हजारदेखिमाथि भाडा रहेको छ । भाडा महंगो र उडान पनि सुनिश्चित नभएका कारणले पनि यात्रुहरु यहाँबाट जहाज चढ्न हिचकिचाउने गरेको उनी बताउँछन । ‘यहाँको फलाइट हुन्छ, हुन भन्ने सुनिश्चित हुन्न अन्य स्थानमा एउटा नएपनि अर्को हुन्छ,त्यही भएर मानिसहरु नेपालगंज वा भैरहवा जाने गर्दछन्’, स्थानीय कमल वलीले भने । ठुलो संघर्षपछि तुलसीपुरमा नेपाल वायुसेवा निगम र निजी विमानले सेवा दिन थालेपनि केहि महिनादेखि भने उडान अनियमित बन्दै गएको छ । तुलसीपुर उपमहानगरपालिका उद्योग वाणिज्य संघको पहलमा विमान स्थल सञ्चालन भएपनि उडानले भने नियमिता पाउन सकेको छैन् ।

यसैबीच तुलसीपुर उपमहानगरपालिकामा रहेको नेपाल वायुसेवा निगमको कार्यालय तुलसीपुर उपमहानगरपालिकाले भाडा तिर्न नसक्ने भन्दै त्यहाँबाट सारिएको छ । तुलसीपुर उपमहानगरपालिकाले यसअघि भाडा तिरेर कार्यालय सञ्चालन गरेपनि हाल भने यहाँबाट अनेत्र सारिएको छ । हाल तुलसीपुर उद्योग वाणिज्य संघको कार्यालयमा कार्यालय सञ्चालन गरेको छ । ‘यहाँ रहेको नेपाल वायुसेवा निगमको सम्पर्क कार्यालय काठमाडौ जाने अवस्था आएपछि तुलसीपुर उद्योग वाणिज्य संघमा कोठा दिएका छौ’, पूर्व अध्यक्ष रिजालले भने,‘यो अत्यन्तै दुःख पक्ष हो ।’

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्