क्षतिग्रस्त सडक तत्काल मर्मत गर्न नागरिक समाजको ध्यानाकर्षण – Kanika Khabar
Monday, February 16Nepali News Portal

क्षतिग्रस्त सडक तत्काल मर्मत गर्न नागरिक समाजको ध्यानाकर्षण

    मा प्रकाशित

घोराही, ७ भदौ ।
नागरिक समाज दाङले जिल्लाको लमही घोराही तुलसीपुर सडक खण्डको क्षतिग्रस्त सडक अबिलम्ब मर्मत गरी सहज आवागमन बनाउन माग गरेको छ । समाजका संयोजक केबी मसालको अध्यक्षतामा बिहीबार घोराहीमा बसेको नियमित बैठकले जिल्लाको प्रमुख शहरलाई जोड्ने सडक क्षतविक्षत हुँदा यातायातका साधनमा क्षति भईरहेको तथा नागरिकले निकै सास्ती भोग्नु परिरहेको अवगत गराउँदै सम्बन्धित निकायलाई जिम्मेवारी पूरा गर्न ध्यानाकर्षण गराएको छ ।
जिल्लाको घोराही तुलसीपुर सडक चार लेनका रुपमा बिस्तार गर्न २०७५ भदौमा सिलान्यास भएको पाँच वर्ष बितिसक्दा पनि निर्माण कार्य सम्पन्न हुनुको साटो सडक बिगारेर सडक क्षतिविक्षत भई सवारी दुर्घटना हुँदा हालसम्म ३५ जनाले अकाल ज्यान गुमाउनु परेको सरोकार निकायको ध्यानाकर्षण गराएको छ । अलपत्र सडक चाँडो निर्माण सम्पन्न गर्न र त्यसभन्दा अघि खाल्डाखुल्डी परेका सडक अबिलम्ब मर्मत गर्न सचेत गराएको छ ।
यसैगरी, घोराहीलगायत जिल्लाका बजार क्षेत्रमा सडकपेटीमा व्यवसाय नगर्न पालिकाले बारम्बार आह्वान गरेपनि सडक नै अस्तव्यस्त हुने गरी सडकपेटीमा व्यापार गर्दा दुर्घटनाको जोखिम बढेको तथा सडक सभ्यतामा असर गरिरहेको प्रति सम्वद्ध निकायको गम्भीर ध्यानाकर्षण गराएको छ ।
समाजले देशमा हाल भुटानी शरणार्थी, ललिता निवास, सुनकाण्ड, गिरीबन्धु टी ट्रष्टलगायत विषयलाई नेपाल सरकार गम्भीरतापूर्वक अन्तिम टुंगोमा पुर्याउन अपिल गरेको छ ।
समाजले कानूनी शासनलाई लत्याएर सार्वभौम सत्ता सम्पन्न नागरिकको अभिमत विपरितका कार्य बढ्दै गएको र यसले आम नागरिकमा निराशा बढाउने काम गरेको प्रति सचेत गराउँदै आगामी दिनमा यस्ता घटना नदोहोर्याउन नागरिक समाजले आह्वान गरेको समाजका सचिव नारायणप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्