पानी खाने बर्कत छैन, सारङ्गी बजाउँँछन् – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

पानी खाने बर्कत छैन, सारङ्गी बजाउँँछन्

    मा प्रकाशित

गाेविन्द खड्का

घोराही, ११ भदाै ।

आकाश उघ्रिएपछि शनिबार घोराही– १८ का कलबहादुर पुन बिहानी झुल्के घामसँगै घोराही हात्तीखर्क सडक किनारको घरबाट निस्कनुभयो । बजाउँदा बजाउँदा गोडाले मुसारेर चिल्लो बनेको सारङ्गीलाई मर्मत गर्न लाग्नुभयो । उहाँले मर्मत गर्ने पनि खुट्टाले हो ।

एउटा हातमा खुरुङ्गी (सानो हँसिया) अर्को हातमा मोबाइल । बोल्नै नसक्ने उहाँलाई मोबाइलको प्रयोजन अरु केही कामका लागि हुनुपर्छ । मोटो बिँड भएको खुरुङ्गी भने सारंगीका किलाहरु ठोकठाक पार्न र तार कस्न रहेछ । उहाँले बोलेर जानकारी नदिए पनि एउटा खुट्टाले च्यापेको सारङ्गी अर्को खुट्टामा च्यापेको खुरुङ्गीले ठोकेपछि थाहा भयो । उहाँले ठ्वाक–ठ्वाक पार्दै र सारंगीका तार कस्दै गर्न थाल्नुभयो । बेला–बेलामा तारबाट धुन निकालेर त्यसको स्वर परिक्षण गर्नुभयो ।

उहाँकी आमा ७७ वर्षीया रामकली संघार नजिकै केही खाँदै र बाहिर छोराको इलम हेर्दै गर्नुभएको थियो । ‘यो किन्या त धेरै भयो’– उहाँले छोरातिर हेर्दै भन्नुभयो– ‘उसैबेला १३ सय हाल्या हो ।’ यति बोल्न सक्ने क्षमता छोरामा भने छैन । उहाँ पुरै शरीर बटारेर सांकेतिक रुपमा केही भन्नुहुन्छ । न त हावभाव गर्ने हात चल्छन् । न त बक फुट्छ न अनुहारले संकेत गर्न सक्छ । झरी रोकिएपछि सारङ्गी बजाउने काममा जानुपर्छ भन्ने तयारीले भने चेतना भरपुर भएको देखाउँछ ।

उमेर कति भयो, आमालाई सोधेपछि ६० जति भयो होला भन्नुभयो । उहाँलाई पनि छोराको उमेर ठ्याक्कै थाहा छैन । बरु आफु तीन सालमा जन्मिएको कण्ठ छ । त्यसले कति वर्षकी भएँ भन्ने जान्नुहुन्न । छोराले बजार गएको बेलामा सारङ्गी देखे । घरमा आएर किन्न पठाए र सिके । ‘राति राति नसुत्दासम्म बजाउँछ’– उहाँले भन्नभयो– ‘आफैले गैकिन ल्याया हो, सिकिरहोस् भन्छु ।’

बसेको बेला पनि उहाँले बजाउनुहुन्छ । मर्मत गर्नुहुन्छ । आमाले भनिरहँदा पुनले आँखाभरी आँसु डबक्क पार्नुभयो । बोल्न नसके पनि कुरा सुनेको र आमाले कहेका दुःख बुझेको जस्तो देखिन्थ्यो । समवेदना छ, भावना छ, ममत्व छ र आमाका दुःख महसुस गर्ने उच्च चेतना छ भन्ने बुझिन्थ्यो । अझै असहज तरिकाले मुन्टो बटार्नुभयो । केही भनेको हुनुपर्छ । कमाउन जाने तयारी गरिरहेको हुनाले आमालाई सुख दिन्छु भनेको हुनुपर्छ ।

मौसम सफा हुँदाको दिन पुन घोराही बजारमा आउनुहुन्छ । एक ठाउँमा बसेर खुट्टाले सारङ्गी रेट्नुहुन्छ । आउने जाने मानिसलाई पुलुक्क दयालु आँखाले हेर्नुहुन्छ । मानिसहरुले त्यो दृश्य देखेर आत्मा पगाल्छन् । सक्दो सहयोग दिन्छन् । आफूसँग भएको चानचुन पैसा दिएर जान्छन् । देख्या नदेख्यै गर्नेहरु पनि हुन्छन् । उनीहरुले दिएको त्यही पैसा घरमा लगेर पुनले ओढ्ने ओछ्याउने तथा चरी मासु खाने उपाय हुन्छ । चाडवाड मान्ने रकम जुट्छ । कतै मरुबरु हुँदा चाहिने खर्च जुट्छ । सरकारले दिएको अपांगता भत्ताबाट रासनपानी जुटाउने गर्नुभएको आमाले जानकारी दिनुभयो ।

उहाँका पिता बितेको आठ नौ वर्ष भयो । एक छोरी र तिनभाइ छोरा हुन् । छोरीको विवाह भइसकेको छ । छोरा छुटा भिन्नै भएर अलग बस्छन् । अलग भएका छोराले बस्ने व्यवस्था मिलाइदिएका छन् । सबैको विवाह भयो । कुलबहादुरबाहेक अरु छोराछोरी आफ्ना इलममा लाग्नुभएको छ । बजारमा सारङ्गी बजाउँदा नजिकै बसेर आमाले याद चेत गर्नुहुन्छ ।

उहाँलाई बजार अटोमा ल्याएर छोड्ने र अटोमा लैजाने आमाले गर्नुहुन्छ । छोरा तिर्खायो भन्ने लागेको बेला आफै पानी बोकेर ल्याई पिलाउनुहुन्छ । ‘पानी खाने वर्कत छैन’– उहाँले भन्नुभयो– ‘सारङ्गी बजाउन भगवानले सिकाइदिया त होलान् ।’ उहाँकाअनुसार हात चलाएर मुखसम्म लग्न नसकेपछि उपाय छैन । सबै स्याहार सुसार आमाले गर्दै आउनुभएको छ । खुवाउने चुठाउने, चिलायो भने कन्याइदिनेदेखि सबै सेवा आमाले गर्नुहुन्छ । उहाँ जन्मजात त्यस्तै भएको आमाको भनाइ छ । आमालार्ई पिर छ, आफू तलमाथि भएपछि कसरी बाँच्ला । आफै पानी खाने बर्कत नभए पनि मेहनतले सारङ्गी बजाउन सिक्नुभएको छ । मिठो र विरहको धुन निकाल्नुहुन्छ । उहाँको सीप र क्षमतालाई सम्मान गर्दै जीवन गुजाराको लागि सबैको सहयोग आवश्यक छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्