कनिका डेस्क
दाङ, १२ भदौ ।
दाङ जिल्ला उद्योग वाणिज्य संघको अधिवेशन नजिकिदै गर्दा चुनावी सरगर्मी पनि बढ्दै जान थालेको छ । नयाँ नेतृत्वका लागि आगामी असोज १३ गते दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचन हुन गइरहेको छ । निर्वाचनको मिति नजिकिदै गर्दा आकांक्षीहरु पनि बढ्न थालेका छन् ।
उद्योग वाणिज्य संघ विशुद्ध व्यापारिक संस्था हो । व्यवसायीका हकहितका लागि स्थापना गरिएको संस्थामा पछिल्लो चरणमा राजनीतिक दलहरुले राजनीतिक अस्तित्व खोज्न थालेपछि नेतृत्व चयनमा ध्रुवीकरण देखिन थालेको छ । राजनीतिक पार्टीका चुनावको झल्को आउने गरी चुनावी कसरतमा स्वयम् दलहरु उत्रिदिने परम्पराको विकास भएसँगै नेतृत्व छनौट सकस बन्दै जान थालेको छ ।
नेपाली काङ्ग्रेस निकट प्रजातान्त्रिक उद्यमी संघले भने अझै उम्मेदवारको टुङ्गो लगाई सकेको छैन । उम्मेदवारको टुङ्गो लगाउन छलफल भइरहेको संघका अध्यक्ष कालीबहादुर खत्रीले बताए । यता संघले उम्मेदवारको टुङ्गो लगाउँदै गर्दा नेपाली काङ्ग्रेस निकटका व्यावसायी नेतृत्वको लागि अकांक्षा भने देखाइरहेका छन् । पछिल्लो चरणमा काङ्ग्रेस काङ्ग्रेस निकटका आकांक्षी पनि बढ्दै जना थालेका छन् ।
निवर्तमान उद्योग उपाध्यक्ष बसन्त जोशी, वर्तमान कार्य समितिमा रहेका वरिष्ठ उपाध्यक्ष नरेश कार्की, सचिव नरेश श्रेष्ठ, कोषाध्यक्ष सुशील पोख्रेल, सदस्य भरतराज रेग्मी नेतृत्व हाँक्न तयार रहेका छन् ।
वरिष्ठ उपाध्यक्ष कार्कीले अब स्वतः अध्यक्षको पालो आफ्नो रहेको दावी गरे । ‘रोलक्रमकै आधारमा पनि मेरो पालो आएको छ । कुरा रोलक्रम र पालोको मात्र हुँदैन म नेतृत्वको लागि सक्षम पनि छु । सधैं संस्थाको नियमभित्र रहेर काम गर्दै आएको छु । पार्टीको निर्णयलाई पनि स्वीकार्दै आएको छु । नीति नियमभन्दा बाहिर भएर कहिल्यै काम गरेको पनि छैन ।’ कार्कीले थपे, ‘प्रजातान्त्रिक उद्यमी संघ तथा पार्टीबाट न्यायोचित निर्णय हुन्छ भन्नेमा व विश्वस्त छु ।हामी जिल्ला नगर उद्योग वाणिज्य संघहरुले पनि महासंघकै पद्धति अनुसरण गरेर निर्वाचनमा जानुपर्ने मनसायका साथ संस्थामा पहिलो पटक वरिष्ठ उपाध्यक्ष पद थप गरिएकोमा अहिले आएर वैधानिक अपव्याख्या गरि अध्यक्ष पदमा निर्वाचन गरिदैछ । नत्र वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुनुपर्ने हो । तर पनि संस्थागत बिधानको अक्षरशः पालना गर्दै निर्वाचनमा होमिन तयार छु । ’
त्यस्तै अर्का आकांक्षी नरेश श्रेष्ठले पनि आफू नेतृत्वको लागि इच्छुक रहेको बताए । ‘म नेतृत्वको रेसमा छु । म नितान्त व्यवसायी हो । उत्पादनसँग जोडिएको व्यवसायमा म आवद्ध छु । उद्योगी, व्यावसायीको हकहितका पक्षमा सधै आफूलाई उभ्याउँदै आएको छु । सदैव संस्थामा व्यवसायीहरुका पक्षमा आफूलाई सक्रिय राख्दै आएको छु । नेतृत्वको लागि संघमा प्रवेश गरेको को कति समय हो भनेर समयको लेखाजोखा होइन कामको मूल्याङ्कन हुनुपर्छ भन्ने मेरो मान्यता हो । मूल्याङ्कनले सायद मेरो योग्यतामा खोट लगाउने ठाउँ छैन ।’ श्रेष्ठले बताए ।
कोषाध्यक्ष सुशील पोख्रेल पनि आफू नेतृत्वको लागि काबिल रहेको बताउँछन् । ‘संघ आर्थिक अवस्थालाई उचाई दिनुका साथै व्यवसायीहरुलाई काममा सहजता ल्याउनसम्म महत्वपूर्ण भूमिका निर्वाह गरेको छु । पद पदका लागि मात्र होइन पद त काम गर्नका लागि हो । म कोषाध्यक्ष रहेर काम गरिरहँदा पदलाई होइन कामलाई महत्व दिएको छु । पदका लागि व्यक्ति होइन कामका लागि व्यक्ति हो भन्ने मेरो मान्यता छ ।’ पोख्रेलले बताए ।
प्रजातान्त्रिक व्यवसयीबाटै भरतराज रेग्मी पनि नेतृत्वका लागि आकांक्षी रहेका छन् । सदस्य पदमा रहेर काम गरिरहेका रेग्मी नेतृत्वको रेसमा रहेका छन् । ‘नेतृत्वका लागि अनुभवले खारिनुपर्छ । संस्थामा कसले कति समय बितायो त्यो तपसिलको कुरा हो । व्यावसायिक हकहितका लागि सदैव काम गर्दै आएको छु । व्यावसायीहरुको व्यापार प्रवद्र्धनमा सधै तत्पर रहेको छु ।’ रेग्मीले बताए ।
यसपूर्व उद्योग उपाध्यक्ष रहेका बसन्त जोशी नेतृत्वको आकांक्षी देखिएका छन् । उद्योग उपाध्यक्षपछि नै नेतृत्व लिन खोजेका जोशीलाई पार्टीले छनौट नगरेपछि बागी उम्मेदवारी समेत दिएका थिए । सदस्य पदबाट संघमा प्रवेश गरेका जोशी उद्योग उपाध्यक्षसम्मको जिम्मेवारी बहन गरेका छन् । ‘यसपूर्व आफूले केही गल्ती गरेको र पछि त्यो गल्ती सच्चाइ सकेको छु । सजाय पनि भोगिसकेको छु । पहिलेको तुष नराखेर निर्णय गर्ने हो भने ममाथि न्याय पनि हुने थियो । काम त पदमा रहँदा र नरहँदा संंघमा मैले देखाएको क्रियाशीलता नै हो, त्यो मैले भन्नु भन्दा पनि सबैलै थाहा पाउनु भएकै छ ।’ जोशीले भने ।
चुनावी मिति एक महिनाको हाराहारीमा रहँदै गर्दा नेकपा एमाले निकट व्यावसायिक संस्था नेपाल उद्योग तथा व्यवसायी महासंघ दाङ ले नेतृत्वको लागि उम्मेदवारको टुङ्गो लगाएको छ । महासंघको गत शुक्रबार बसेको बैठकले दाङ जिल्ला उद्योग वाणिज्य संघका वर्तमान उपाध्यक्ष रामप्रसाद पोख्रेललाई नेतृत्वमा पठाउने पार्टीगत निर्णय गरेको छ ।
यता नेकपा माओवादी केन्द्रले पनि नेतृत्वको लागि कसरत गरिरहेको छ । यद्यपि गठबन्धनबाटै संघको भागबण्डा मिलान गर्ने मनसाय रहेको माओवादी केन्द्र दाङका सचिव विश्वराज आचार्यले बताए । ‘प्रजातान्त्रिक उद्यमी संघसँगको परामर्श भइरहेको छ । छलफल भइरहेको छ । गठबन्धनबाटै चुनावी प्रक्रियामा जाने सहमति भए त्यसै अनुसारको सहमति हुने नै छ । यद्यपि माओवादी केन्द्र तारा अधिकारीको नेतृत्वमा संघमा जाने निर्णय भएको छ । त्यसै अनुसार गठबन्धनमा छलफल अगाडि बढाइरहेका छौँ ।’ आचार्यले बताए ।
संघको चुनावी सरगर्मी बढिरहेका बेला राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल उद्योग व्यापार संघ घोराही नगर समिति गठन भएको छ । संघ सहमतिकै आधारमा अगाडि बढ्ने मनसायमा रहेको छ । अधिवेशन अगाडिसम्म सहमतिको प्रयास गरेर आफ्नो हिस्सा खोज्ने संघका अध्यक्ष रामप्रसाद पोख्रेलले बताए ।
व्यावसायीहरुको नेता चुन्ने र उद्योगी व्यावसायीका पक्षमा काम गर्ने नेतृत्वका लागि पार्टीको चुनावको झल्को आउने गरी राजनीतिक दलहरु सक्रिय रहन थालेका छन् ।