दाङ, १५ भदौ ।
घोराहीमा सामाजिक समानता र सद्भाव कायम गर्न मुख्य सडकमा सार्वजनिक रक्षाबन्धन गरिएको छ । हिन्दु धर्मको संरक्षण एवम् प्रवर्धनको लागि घोराही उपमहानगरपालिका–१५ को भानुचोकमा बैद्धिकमन्त्र उच्चरण गरेर सामूहिक रक्षाबन्धन कार्यक्रम गरिएको छ ।
सर्वसाधारण नागरिकको हातमा डोरी बाँध्ने काम भएको छ । अघिल्ला वर्षमा घरमै रक्षाबन्धन गर्ने मानिस सामूहिक कार्यक्रम भएकोमा खुसी देखिएका थिए । घोराही उपमहानगरपालिका–७ उत्तरबाहिनी क्षेत्र शुक्रवारमा रहेको माता पवित्रादेवी सांगवेद संस्कृत विद्यालय (गुरुकुल) को आयोजनामा भएको सार्वजनिक रक्षाबन्धन कार्यक्रममा दुई सय ५० देखि ३ सयसम्म मानिस रक्षाबन्धन बाँध्य कार्यक्रममा सहभागी भएको गुरुकुलका प्रबन्धक प्रकाश भट्टराईले बताए । धर्मको रक्षासँगै सबै जाति र समुदायप्रति समानता र सद्भाव कायम गर्न सार्वजनिक ठाउँमा रक्षाबन्धन कार्यक्रम गरिएको भट्टराईले बताए ।
रोगव्याधी, दैविक प्रकोपलगायतका घटनाहरू नहुन् र सबै जाति र समुदायबिच सद्भाव कायम गर्न सहयोग पुगोस् भन्दै गुरुकुलका प्रबन्धक समेत रहेका पण्डित भट्टराईले भने ‘हिन्दु धर्मको संरक्षण, प्रवर्धन र सामाजिक सद्भावका लागि सामूहिक रक्षाबन्धनले महत्वपूर्ण भूमिका खेल्ने छ ।’ उनका अनुसार घरघरमा पुगेर रक्षाबन्धन बाँध्नुभन्दा सार्वजनिक ठाउँमा सबैको सहभागितामा रक्षाबन्धन गर्दा समाजमा राम्रो सन्देश जान्छ ।
सार्वजनिक रक्षाबन्धन कार्यक्रममा हातमा डोरी बाँध्न माता पवित्रादेवी सांगवेद संस्कृत विद्यालय (गुरुकुल) मा अध्ययनरत बटुकको सहभागिता थियो । सामाजिक त्रुटिका रूपमा रहेको जातीय विभेदको अन्त्यसँगै सांस्कृतिक र धार्मिक रक्षाका लागि गुरुकुलका माध्यमबाट सामूहिक रक्षाबन्धन कार्यक्रमको आयोजना गरिएको माता पवित्रादेवी सांगवेद संस्कृत विद्यालय (गुरुकुल) व्यवस्थापन समितिका सदस्य जीवन गौतमले बताए ।
घरमा रक्षाबन्धन गर्दा परिवारिक सद्भाव कायम हुने र सामूहिक रूपमा सबैलाई सहभागी गराएर रक्षाबन्धन गर्दा पर्वको महत्वसँगै सद्भाव कायम गर्न सघाउने उनले बताए । ‘हिन्दु धर्ममा भएका केही कमजोरीका कारण अन्य धर्मले फाइदा उठाएका छन्, ती कुरालाई सुधार गर्दै अघि बढ्न पनि सामूहिक रक्षाबन्धनले सहयोग गर्नेछ’, उनले भने । आफ्नो धर्म, संस्कृति र परम्पराका बारेमा नयाँ पुस्तालाई पनि जानकारी हुन आवश्यक रहेको उनले बताए । घोराही
उपमहानगरपालिकाको वडा नं. ७ उत्तरबाहिनी क्षेत्र शुक्रवारमा रहेको श्री माता पवित्रादेवी सांगवेद संस्कृत विद्यालयलाई नमुना संस्कृत विद्यालय (गुरुकुल)का रूपमा विकास गर्न थालिएको छ । योगी नरहरिनाथको सक्रियतामा क्षमकान्त धितालको परिवारले २०२२ सालमा २६ बिगाह चार कट्ठा एक धुर जग्गा दान दिएर स्थापना गरेको माता पवित्रादेवी सांवेद संस्कृत विद्यालय (गुरुकुल) वर्षौंदेखि ओझेलमा थियो ।
घोराही उपमहानगरपालिकाको पहलमा नमुना संस्कृत विद्यालय बनाउने योजनासहित यसै शैक्षिक सत्रदेखि पुनः सञ्चालनमा ल्याइएको प्रबन्धक भट्टराईले बताए । उनका अनुसार उक्त गुरुकुलमा अहिले दाङ, प्युठान, बाँके, बर्दिया र भारतबाट समेत गरी ३० जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयसँग अहिले करिब १५ बिगाह जमिन छ ।
करिब २३ वर्ष संस्कृत पढाई भएको उक्त विद्यालयमा २०४५ सालमा रोकिन पुगेको थियो । रोकिएको विद्यालयमा अहिले गुरुकुल स्थापना गरेर यस वर्षदेखि संस्कृत पढाई सुरु गरिएको प्रबन्धक भट्टराईले बताए । जिल्लामा गुरुकुल नहुँदा पहिले गुरुकुल शिक्षा पढ्नका लागि बालबालिकालाई स्वर्गद्वारी, देवघाटलगायत भारतको हरिद्वार र बनारससम्म जानु पर्ने बाध्यता थियो । गुरुकुल स्थापना भएसँगै बाहिर जानु पर्ने बाध्यता हटेको छ ।
गुरुकुलमा कक्षा ६ मा १३ जना, कक्षा ७ मा १० जना र ८ कक्षामा सात जना विद्यार्थी छन् । उनका अनुसार गुरुकुललाई विकास गर्दै उत्तर मध्यमा (कक्षा १२) सम्म पढाइ हुने गरी विकास गर्ने उद्देश्य छ । यस वर्ष घोराही उपमहानगरपालिकाले छात्रावास निर्माणका लागि ३० लाख रूपैयाँ समेत बजेट विनियोजन गरेको छ ।


