शनिबारदेखि ‘जनतासँग माओवादी’ कार्यक्रम शुभारम्भ – Kanika Khabar
Saturday, September 30Nepali News Portal

शनिबारदेखि ‘जनतासँग माओवादी’ कार्यक्रम शुभारम्भ

    मा प्रकाशित

काठमाडौँ, १५ भदौ ।
नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । माओवादी केन्द्रले २०८४ सालको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको परिणाम आफ्नो पक्षमा सुनिश्चित गर्ने मुख्य लक्ष्य बनाएर भोलि शनिबारदेखि सञ्चालन गर्ने भएको हो ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार अपराह्न १ बजे काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नं २ स्थित भट्टेडाँडाबाट देशभर एकसाथ अभियानको सुरु भएको घोषणा गर्ने कार्यक्रम छ ।

अभियानअन्तर्गत पार्टी अध्यक्ष प्रचण्डले नेतृत्व गरेको सरकारले गरेका भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवद्र्धनलगायत जनपक्षीय कामको प्रचारप्रसार गरिने, पार्टीभित्रको समस्या तथा अन्तरविरोधको पहिचान गर्ने, माओवादी नेता तथा कार्यकर्ता जनतासँग नपुग्नेलगायत गुनासाको प्रभावकारी समाधान खोजिने माओवादी पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए। ‘अभियानका क्रममा माओवादी जनताको घरघरमा जानेछ, आसन्न २०८४ सालको निर्वाचनको नतिजालाई प्रभाव पार्ने उद्देश्यसहित अभियान सञ्चालन हुनेछ’, उनले भने ।

पार्टी अध्यक्ष प्रचण्डले अभियान शुभारम्भको घोषणा गरेसँगै देशभरका छ हजार सात ४३ वडामा एकसाथ अभियान सञ्चालन गर्नेगरी तयारी गरिएको माओवादीले जनाएको छ । अभियानअन्तर्गत कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायका क्षेत्रमा गरेका कामबारे जानकारी गराइनेछ । पार्टी अध्यक्ष ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासन कामय तथा सेवा प्रवाहमा जनअपेक्षाअनुसार काम गर्दै आएको पार्टीले जनाएको छ । सरकारले चालेका कदमलाई ठूलो जनसमर्थन प्राप्त भएको सो पार्टीको दाबी छ ।

अभियान तीन चरणमा सञ्चालन हुने बताइएको छ । पहिलो चरणमा बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरण(विस्तार, अभिलेख व्यवस्थापन, उत्पादन र प्रचारसँग सम्बन्धित संयन्त्र तथा योजना निर्माण, विभिन्न तहका पार्टीका कार्यालय व्यवस्थापन, पार्टीभित्रका अन्तरविरोधको पहिचान र समाधानको पहल, कार्यकर्ता व्यवस्थापनका लागि कोष स्थापना गरिनेछ ।

दोस्रो चरणमा पाँच घण्टे अन्तरपार्टी स्कुल, विषयगत अन्तरक्रिया, विषयगत तालिम, गोष्ठी, जनप्रशिक्षण, जनभेला, टोलटोलमा युवाभेला, स्थानीयस्तरका सरकारी तथा सामाजिक सङ्घ संस्थासँग अन्तरक्रिया गरिने जनाइएको छ । तेस्रो चरणमा जनप्रदर्शन, जनसङ्घर्ष, जनसेवासहित जनपरिचालनका कार्यक्रम सञ्चालन गरिनेछ । यस्तै सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानमा जनसमर्थन तथा ऐक्यबद्धता एवं टोलसभा गरिने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

अभियानलाई प्रभावकारी बनाउन आजसम्म प्रदेश, जिल्ला, पालिका, वडा बैठकबाट कार्ययोजना निर्माण गरिएको माओवादीले जनाएको छ । आगामी कात्तिकसम्म अभियान चल्नेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्