मा प्रकाशित

म पनि तिक्ष्ण थिएँ
म पनि कृष्ण थिएँ
तर
सुदामा पनि थिएँ
सम्पत्ति एक रोपनी थिएन
गोपनियताको कुरा…
सोह्र सय त भन्दिनँ
करिब सोह्र जति त
मेरा पनि गोपिनी थिए
मेरो जिन्दगिको कुरुक्षेत्रमा
कति गोपिनी मेरो विघ्न वाधा भइन्
तर, अन्तिममा एक राधा आइन्
अपूर्ण थिएँ, पूर्ण भएँ
मेरो जिन्दगीको आधा भइन्
कृष्ण जस्तै
म पनि विगतलाई
वास्ता त गर्दिनँ
भविष्यको चिन्ता पनि गर्दिनँ
अनि
म कसैको झोले होइन
त्यसकारण,
दिनरात टपरीको खोलेमै रमाउँछु
मलाई थाहा छ
जिन्दगी अल्प छ
तर
म संग धेरै विकल्प छ
म पनि कृष्णको बाँसुरी समाउँछु
अनि
वर्तमान मै रमाउँछु
अनायासै
खै के यस्तो लीला भयो
सायद, म जन्मनु नै ढिला भयो
म
बोली अनि विचारमा कृष्ण थिएँ
तर, व्यवहारमा कंश थिएँ
लडाकु क्षत्रिय वंश थिएँ
तर, मैले भूलेछु क्यारे
म एक क्षणभंगुर प्राणी
मृत्युको एक अंश थिएँ