काठमाडौँ, २० भदौ ।
नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई आक्रमण गरेको आरोपमा प्रहरीले नुवाकोटको विदुर नगरपालिका टुप्चे घर भई बालाजुको पैंयुटार बस्ने ४७ वर्षका श्यामबहादुर सापकोटालाई पक्राउ गरेको छ । आक्रमणकारी सापकोटाले रिसको झोकमा आक्रमण गरेको बताएका छन् ।
बुधबार रिपोटर्स क्लबमा भएको कार्यक्रममा सहभागी भएर फर्किने क्रममा सापकोटाले यादवको टाउकोमा पछाडिबाट खुकुरी आक्रमण गरेका हुन् । आक्रमणअघि क्लबमा भएको कार्यक्रममा सापकोटाले कांग्रेस नेता यादवको भाषण सुनेर बसेका थिए । उनले यादवको भाषण धैर्यपूर्वक सुनेका थिए तर बाहिर निस्किएपछि उनले झोलाबाट खुकुरी झिकेर आक्रमण गरेका थिए ।
आक्रमणपछि उनले एमसीसी खारेज गर, हिन्दू राष्ट्र कायम गर, राजसंस्था जिन्दावाद जस्ता नारा लगाएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।


