‘मास्क सारथि’ वीरु फ्रन्टलाइनकै ओझेलका पात्रसँग – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

‘मास्क सारथि’ वीरु फ्रन्टलाइनकै ओझेलका पात्रसँग

    मा प्रकाशित

कनिका खबर
असार २४, दाङ ।


विश्व कोरोना भाइरसको महामारीबाट आक्रान्त छ । ‘आफू बचौँ र अरुलाई बचाऔँ’ भन्ने धारणा हरेक जनजनमा छ । कोभिड १९को सङ्क्रमणबाट सुरक्षित रहने उद्देश्यका साथ नेपाल सरकारले चैत्र ११ गतेदेखि लकडाउनको घोषणा गरेको हो । नेपालमा आज लकडाउन भएको १०७ दिन पुगिसकेको छ ।
सरकारी, गैरसरकारी तहबाट कोभिड १९ सँगको सामनाका लागि अपनाइने हरेक गतिविधिहरु चलिरहेका छन् । त्यसो त व्यक्तिगत तहबाट समेत कोभिड १९ सँगको लडाईका लागि पनि त्यतिकै महत्वपूर्ण कार्य भइरहेका छन् ।
बन्दाबन्दीको सुरुवातीमा देखिएको समस्या भोक थियो । मान्छे भोकसँग लडिरहँदा रोगको सन्त्रास त झनझन बढिरहेको थियो । अहिलेको मुख्य समस्या भनेको नै रोग र भोकसँगको सङ्घर्ष हो । बिस्तारै भोकको वैकल्पिक व्यवस्थापन भइरहेको छ तर रोगसँगको त्रास झन बढिरहेको छ ।
फ्रन्टलाइनमा रहेर काम गर्नेहरुका लागि कोभिड १९ सबैभन्दा खतरनाक बन्दै गएको छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा सरसफाईकर्मीका लागि कोभिड १९ चुनौति बनेको छ । मुख्य गरी यी चार तहलाई सुरक्षित राख्न सकिएमा समुदाय तहमा कोभिडको बिस्तारलाई न्यूनीकरण गर्न सकिन्छ । यी क्षेत्रका लागि देखिएका चुनौति सामान्य चुनौति होइनन् ।
यतिबेला राज्यले आफ्नो दायित्व पूरा गर्ने एउटा पाटो हो तर राज्यले अबलम्बन गर्ने नैतिकता अर्को पाटो हुन्छ । यसमा राज्य चुक्यो या चुकेन यसको समीक्षा आगामी दिनमा हुने नै छ । विभिन्न संघसंस्थाहरु पनि यस काममा लागिरहेका छन् ।
यतिबेला थुप्रै अभियानहरु चलिरहेका छन् कतिपय अभियान परोपकारी होलान् त कतिपय अभियानले सस्तो लोकप्रियता बोकेका होलान् त्यसो त कतिपय अभियानले पहिचानको अवसर खडा गरेका होलान् । यस्तो महामारी र सङ्क्रमणको बेला पूर्वी दाङदेखि पश्चिम दाङ मात्र होइन दाङका कुनाकाप्चामा पुगेर समेत कोभिड १९ बाट सुरक्षित रहनका लागि सहयोग पुगोस् भन्ने उद्देश्यका साथ केएन ९५ मास्क वितरण गर्ने अभियान एउटा व्यक्तिका लागि चानचुने हुन सक्दैन । विगत एक महिनादेखि यही अभियानको एक अभियन्ताका रुपमा आफूलाई स्थापित गर्न सफल भएका छन् घोराही उपमहानगरपालिका वडा नं. १४ निवासी वीरु खत्री । नेपाली काङग्रेस क्षेत्र नं. २ का क्षेत्रीय सदस्य तथा नेपाल तरुण दल दाङ जिल्लाका सदस्य खत्री अहिले ‘मास्क अभियान’मा व्यस्त छन् ।


बिहान उठेदेखि बेलुकासम्म मास्क वितरण वीरुको दैनिकी बनेको छ अचेल । सञ्चारकर्मी, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई मास्क वितरण गर्दै आएका खत्रीले उद्योगी, व्यवसायी, सामाजिक अभियन्ता तथा विभिन्न दलका नेताहरुलाई समेत मास्क वितरण गरेका छन् । कार्यालय तथा घरमै गएर आफ्नो अभियानका बारेमा बताउँदै मास्क उपलब्त्र गराउनमै आजकल व्यस्त रहेका छन् ।
आज बुधबारको बिहानीमै उनी घोराही उपमहानगरपालिकाको प्राङ्गणमा भेटिए । झोलाभरि मास्क र प्रभु लघु उद्योगका राजीव गौतमले निर्माण गरेका स्यानिटाइजरका साथ उनी उपस्थित थिए । सदाभन्दा आज उनी प्रफुल्ल मुद्रामा पनि भेटिए । कारण थियो, फ्रन्टलाइनमै रहेर काम गर्ने भए पनि अहिलेसम्म कसैले प्राथमिकता नदिएका सरसफाईकर्मी उनका अगाडि थिए । मास्क वितरण अभियानलाई आजको बिहानीमा उनले सरसफाइकर्मीसम्म पु¥याएका थिए । उनले भने, ‘मास्क वितरण अभियानमा अघिपछिभन्दा म आज निकै सन्तुष्ट छु, मलाई आत्मसन्तुष्टिको महसुस भएको छ किनकि म फ्रन्टलाइनमा रहेर काम गर्ने तर अहिलेसम्म ओझेलमा परेका पात्रहरुलाई मास्क तथा स्यानिटाइजर उपलब्ध गराउन पाएको छु ।’ उनले थपे, ‘ म यो अभियानलाई परोपकारी अभियानका रुपमा अगाडि बढाउन चाहन्थेँ, साँच्चै आज परोपकारी कर्म गरेको आभास भएको छ, सानो सहयोग हो मेरो यो तर मैलै आज फ्रन्टलाइनका तर ओझेलका पात्रहरुलाई उपलब्ध गराउन पाएँ । यस अर्थमा भन्दा मलाई खुशीको कारण हो अब मनकारी मन, परोपकारी कदम तथा सामाजिक अभियन्ता ध्यान यता पनि केन्द्रित हुनेछ भन्नेमा । कम्तिमा यी ओझेलका पात्रका लागि ढोका खोल्न सकेँ भन्ने मलाई महसुस भएको छ ।’ उपमहानगरपालिकाका सरसफाईकर्मीलाई मास्क वितरणपश्चात सरसफाई संयोजक प्रेम के.सी.ले अभियन्ता खत्रीलाई धन्य्वाद ज्ञापन गरेका थिए ।


वीरुले अहिलेसम्म २ हजारभन्दा बढी केएन ९५ मास्क वितरण गरिसकेका छन् । न त उनले सस्तो लोकप्रियता खोजे न त प्रचारबाजी । व्यक्तिगत लगानीबाटै मास्क वितरण अभियान थालेका वीरुलाई अहिले बिस्तारै मास्क सहयोग हुन थालेको छ । अभियानमा देखिएका सहयोगी मनले झनै हौसला थपेको उनले बताए । यो अभियानलाई निरन्तर रुपमा अगाडि बढाउने पनि उनले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्