काठमाडौं, २१ भदाै ।
नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको साङ्घातिक आक्रमणको विरोध गरेका छन् । थापाले यादवमाथि सनककाे भरमा साङ्घातिक आक्रमण भएको भन्दै थामथुम पार्ने प्रयास नगर्न पनि सरकारलाई सचेत गराए ।
आज बिहीवार प्रतिनिधिसभा बैठककाे आकस्मिक समयमा महामन्त्री थापाले त्याे घटनाको सबै पक्षको अनुसन्धान गर्न पनि सरकारसँग माग गरे । थापाले के काठमाडाैँमा एक्लैले हिँड्न नमिल्ने अवस्था आएको हो भनी गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रश्नसमेत गरे ।
कोही जलाइदिन्छु भन्ने, कोहीले खुकुरी प्रहार गर्ने अवस्था भएकाले काठमाडाैँमा आफूहरू एक्लै हिँड्नसक्ने अवस्था नहुँदा पनि प्रधानमन्त्री र गृहमन्त्रीले धेरै बोल्ने तर परिणाममा आउने गरी काम भने नगरिरहेको महामन्त्री थापाको गुनासो थियो ।
महामन्त्री थापाले पाँच वर्षीया एक बालिकाको काठमाडाैँकाे कान्ति बाल अस्पतालमा उपचार नपाएर ज्यान गएको भन्दै त्याे घटनाको छानबिन गरी तत्काल संसद्लाई जानकारी गराउन पनि सरकारलाई सचेत गराए ।


