संरक्षणमा गर्न नसकिएको ‘ट्रक साहित्य’ – Kanika Khabar
Friday, May 3Nepali News Portal

संरक्षणमा गर्न नसकिएको ‘ट्रक साहित्य’

    मा प्रकाशित

 

नेपाली साहित्य आफ्नै गतिमा अगाडि बढिरहेको छ । नेपाली साहित्यको इतिहामा पनि विभिन्न विमर्श भइरहेका छन् । विभिन्न खोज तथा अनुसन्धान पनि भइरहेका छन् । अझ साहित्यका विधागत रुपमा पनि गवेषण भइरहेका छन् । साहित्यका बारेमा जतिजति अन्वेषण हुँदै जान्छन् साहित्य त्यतित्यति नै दृढ बन्दै जान्छ । किनकि अन्वेषणले आधार तथा प्रमाणहरु फेला पार्दछ । कुनै पनि वस्तुलाई बलियो बनाउने भनेको प्रमाण नै हो ।
नेपाली साहित्यको विकासमा विभिन्न मत पाइन्छन् । यसको थालनी र विकासक्रममा एउटै मतको अभाव खड्किरहेको छ । सबै अनुसन्धानहरु समान हुन नसके पनि समानताको निकट बनेका छन् । अहिलेसम्मको मान्यतालाई हेर्ने हो भने सुवानन्द दासद्वारा लिखितपृथ्वीनारायण शीर्षक कविताबाट प्राथमिक नेपाली साहित्यको प्रारम्भ भएको देखिन्छ । सुवानन्द दासका बारेमा निश्चित जानकारी प्राप्त छैन । यिनको एउटै मात्र कविता पृथ्वीनारायण हो । कमल दीक्षितले सबभन्दा पहिला यसलाई प्रकाशमा ल्याएको पाइन्छ । नेपाली भाषामा पहिलो हुने सौभाग्य पाएको प्रस्तुत कवितामा ध्वनि तात्विक विशेषताहरूको पनि समावेश देखिन्छ । शक्ति वल्लभ अर्याल यस कालका अर्का कवि हुन् । यिनी पृथ्वीनारायण शाहका राज पुरोहित थिए भन्ने भनाइ । यिनले तनहुँ भकुन्डो भन्ने कविताको रचना गरेको पाइन्छ । यसबाहेक यिनले हास्यकदम्ब नाटकको नेपालीमा अनुवाद गर्नुका साथै अन्य फुटकर कविता पनि रचना गरेको पाइन्छ । यिनले आफूलाई संस्कृतमा हास्यकदम्ब र जयरत्नाकर नाटकका साथै अन्यधेरै रचनाका रचनाकार मानेका छन् । यसरी विकासको मार्गमा लम्केको नेपाली साहित्यले अहिले आफ्नो आयामलाई व्यापक तथा फराकिलो बनाउँदै आएको छ । अहिले नेपाली साहित्यमा नयाँनयाँ विधाहरुको पनि आगमन हुँदै आएको छ । विश्व साहित्यमा देखिएका पुराना विधादेखि नवीन विधाहरुको प्रवेश नेपाली साहित्यमा हुनुले नेपाली साहित्य पनि विश्व साहित्यसँग तुलना योग्य देखिन्छ । यो नेपाली साहित्यको उपलब्धी हो ।
सञ्चार र प्रविधिको विकाससँगै मानिसलाई हरेक क्षेत्रमा सहज हुँदै आएको छ । मानव जीवन पनि सहज बन्दै आएको छ । अझ यतिवेला सामाजिक सञ्जालहरुले नेपाली साहित्यको विकासक्रममा पनि टेवा पु¥याउँदै आएका छन् । हिजो साहित्यको इतिहास सिर्जना गर्ने क्रममा ताम्रपत्र, शिलालेखमा लेखिएका अंशले पनि साहित्यको स्थान ओगटेका थिए । यसरी त्यसलाई साहित्यको विकासको अंशसँग जोड्न त्यसलाई त्यसलाई सुरक्षित गरिनु एउटा पाटो थियो भने अर्को पाटो हो त्यसको अभिलेख राख्नु । हिजोका दिनमा ती सीमित थिए र त्यसो गर्न सजिलो भयो तर आजका प्रविधिमा भेटिने साहित्यका अंशलाई सङ्कलन गर्न सम्भव नहोला तर साहित्यको विकासमा त्यस्ता स्रोतलाई उल्लेख गर्न भने हामीले बिर्सनु हुन्न । यस्तै साहित्यको एउटा स्रोत हो — सवारी साहित्य ।
सवारी साधनमा लेखिएका दुई चार तथा छ लाइनसम्मका कवितांश लेखिएका हुन्छन् । अझ विशेष गरेर ट्रकमा यस्तो लेखन बढी पाइन्छ । ट्रकमा त अनिवार्य रुपले नै यस्तो लेखनलाई प्राथमिकता दिइएको हुन्छ । त्यसैले यो सवारी साहित्यभन्दा पनि ट्रक साहित्यभन्दा चाँडो बुझिने हुन्छ । यस्तो लेखनमा नेपालका उकाली ओरालीहरुमा गुड्ने हजारौं ट्रक, बस लगायतका सवारी साधनहरुका पछाडि र चालकको दायाँबायाँ ढोकामा पनि ती बस र ट्रक चालक, कन्डक्टर र खलासीहरुका मनोभावनाहरु कविता वा सायरीको रुपमा लेखेको पाइन्छ । यस्तो लेखनले ती सवारीका कर्मचारीको मनोभावनालाई मात्र सम्बोधन नगरेर आमनागरिकका मनोभावनालाई समेत समेटिरहेको हुन्छ । यस्तो साहित्य लेखनलाई आजकाल ट्रक साहित्य र बस साहित्य भनेर वर्गीकरण गर्ने गरिएको छ । संयुक्त रुपमा यसलाई सवारी साहित्य भनेर भन्न सकिन्छ । ट्याक्टरमा पनि यस्तो लेखनले आफ्नो आयामलाई विस्तारै बढाउँदै लगेको पाइन्छ । ट्रक, बसका पछि लेखिएका रमाइला कविता तथा सायरीले कहिलेकाहीँ राम्रैसँग हँसाउँछन् भने कहिले भित्रैदेखि कुतकुती लगाइदिन्छन् । केहीमा गम्भीर सन्देश हुन्छ भने कतै रमाइला व्यंग्य पनि देख्न पाइन्छ । ट्रक साहित्य भन्नाले कुनै पनि सवारी साधनमा लेखिएका विषयवस्तुलाई भनिएको छ ।

जस्तो केही उदाहरण हेरौं :
१. गाडी है जर्मनी कच्चा नसमझना
ड्राइभर है नेपाली बच्चा नसमझना !

२. ड्राइभरको जिन्दगी कहिले हो खोलामा
फेरि भेट कहिले होला यो चोलामा !

३ फूल सम्झिए बास्ना दिन्छु,
सिस्नु सम्झिए काँडा ।
आफ्नो सम्झिए माया दिन्छु,
विरानो सम्झिए टाढा ।।

४.उकाली होस् वा ओराली होस्
बाटैमा ससुराली होस् ।
गोरी होस् वा काली होस्
ससुरालीमा एउटी साली होस् ।।

५. जलादे उन हसिनोको
जो खुदपे नाज करती है,
गिराके जुल्फगाल पे
जो ड्राइभरको बदनाम करती है ।

६. जँड्याहालाई खोज्ने केवल दुई ठेगाना
कि त भट्टीमा कि त पुलिस चौकीमा ।

७.हर्न मै छ तिम्रो भाऊ
अगाडि जाने छ, तिम्रो दाउ
बिस्तारै आउ भन्दिया छ,
कारण उताबाट आउँदैछ, तिम्रो बाउ ।

८चल्ती है गाडी उड्ती है धूल
ड्राइभरसे प्यार करना लड्कीका भूल ।

९.श्रीमती राख्नु टिपटप
दुइटा बच्चापछि फुलिस्टप ।

१०. बुरी नजरवाले तेरा बच्चा जिए !
ठूला भएपछि तेरै खुन पिए ।

११ मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन
ड्राइभरका केटी धेरै हुन्छन्, खलासीको हुँदैन ।

१२ आँखामा आँसु भए पनि
मुस्कान दिएर चढ
तिमी मेरी कान्छी बूढी भए पनि
भाडा दिएर झर ।

१३.जीवन हो कहिलेकहीँ मोज गर्नु
तर हरेक मोडमा परिवारलाई याद गर्नु ।

१४ याद गर्नुपर्ने कुरा
राम्रो व्यवहार गर्नू : नोकर गरिब र ठूला व्यक्तिलाई ।
गर्न नभुल्नू : उपकार, उद्देश्य र उदारता ।
याद राख्नू : सत्य वचन र कर्मलाई ।
सम्मान गर्नू : माता, पिता र गुरुलाई ।
सानो नसम्झनू : रोग, कर्जा र सत्रुलाई ।
टाढा रहनू : हिंसा र निद्राबाट ।

१५आयु .
केही साथीभाइको हिसाबमा गयो,
केही अंशबन्डामा गयो ।
केही जिन्दगीको भोगाइले निकालिदियो
बाँकी तिम्रो सिन्दुरले पुछिदियो ।

१६. जय शिवशंकर भोला
हाम्रो नयाँ संविधान कस्तो होला
संघीय लोकतान्त्रिक गणतन्त्र
कसरी जोगाउने होला ।

यस्तो लेखन सस्तो लेखन मात्र नभएर जीवनका विविध पक्षसँग मेल खाने, समाज सापेक्ष पनि हुने गरेका छन् । त्यसो त यस्ता लेखन सन्देशमुलक पनि रहेका छन् । कुनै कुनै त निकै मर्म स्पर्शी तथा घत लाग्दा पनि हुन्छन् । तर यस विषयमा साहित्यका अध्येता तथा अनुसन्धानकर्ताहरुले त्यति महत्व दिएको पाइदैन । यद्यपि यस्तो लेखनका स्रष्टा भने अज्ञात नै रहेका हुन्छन् । कुनै कुनै लेखनमा त रिमिक्स तथा प्यारोडी लेखन पनि हुन थालेको छ । यो पनि साहित्य विकासको एउटा पाटो हो । कविता, मुक्तक, सायरी लगायतका लेखनले यस्तो लेखनलाई धान्दै आएका छन् । यसको संरक्षण गर्न सकियो भने नेपाली साहित्यमा अर्को नूतन साहित्यिक तह थपिने छ ।
ट्रक साहित्य सम्बन्धी अहिले एउटा फेसबुक पेज सामाजिक सञ्जालमा चलाइदै आएको छ । पत्रकार सुविद गुरागाइँले केहीवर्ष पहिले ट्रक साहित्य सम्बन्धी एउटा पुस्तक पनि प्रकाशन गरेका छन् । यो पनि ट्रक साहित्यको उपलब्धीलाई बचाएर राख्ने एउटा महत्वपूर्ण कार्य मान्न सकिन्छ । तर विडम्बना यस्तो कार्यप्रति न त सरकारी स्तरका साहित्यिक संघ संस्थाले कुनै पहल थालेका छन् न त अन्य गैर सरकारी साहित्यिक संघ संस्थाले नै कुनै प्रयास गरेका छन् । त्यसो त यसलाई संरक्षण गर्नका लागि स्वयं यातायात व्यवसायी समितिले पनि कुनै पहल गरेको पाइदैन । स्वयम् यातायात व्यवसायी समितिले यस कामको थालनी गर्ने हो भने यस संस्थाले आफ्नो पहिचानलाई फरक विधामा समेत जोड्न सक्छ । आफूलाई यस्तो पङ्तिमा उभ्याउन आवश्यक भएको कुरालाई यातायात व्यवसायीहरुले बुझ्न आवश्यक छ । यस्तो कार्यले साहित्य विकासमा पनि यातायात व्यवसायीहरु जोडिन सक्ने प्रशस्त सम्भावना देखिन्छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्