काठमाडौं , २६ भदाै ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गएराति निधन भएका नेकपा एमालेका उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जली प्रकट गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अध्यक्ष नेपालले श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।
अध्यक्ष नेपालकाे स्टाटस
`हार्दिक श्रद्धान्जली कमरेड सुवास !
संविधानसभाका अध्यक्ष, नेकपा (एमाले)का उपाध्यक्ष, प्रतिनिधिसभाका सदस्य एवम् मसँग लामो राजनीतिक सहकार्य गर्नुभएका कमरेड सुवासचन्द्र नेम्वाङको असामयिक निधन भएको खबरले स्तब्ध बनायो ।
एक निडर र इमान्दार राजनीतिकर्मीका रूपमा विद्यार्थी राजनीति हुँदै कोअर्डिनेसन केन्द्र, नेकपा (माले) र नेकपा (एमाले) पार्टी निर्माण एवम् विस्तारमा उहाँले लिनुभएको पहलकदमी, खेल्नुभएको भूमिका, दिनुभएको योगदान, नेतृत्व र समन्वयका अनेकन पहलहरू मेरो मानसपटलमा ताजै रहेका छन् । केवल पार्टी निर्माणमा मात्र नभई व्यवस्था परिवर्तन, समाज रूपान्तरण, संविधानको रक्षा र विधिको शासन स्थापना गर्दै नेपाललाई समुन्नत राष्ट्र बनाउन सकिन्छ भन्ने दृढ मान्यता सहित सिंगो जीवन नै संघर्षमा होम्नुभएका कमरेड नेम्बाङसँग राजनीतिक र सामाजिक जीवनका अनेकौं सहज एवम् असहज परिस्थितिमा भएका सहकार्यहरू संझिएको छु र उहॅाको भूमिका प्रति उच्च सम्मान प्रकट गर्दछु ।
कमरेड नेम्वाङको पार्थिक शरीर भएको स्थान त्रि.वि. शिक्षण अस्पताल र उहॅाको निवासमा पुगेर पार्थिक शरीर एवम् परिवारजनलाई भेटेर भर्खर फर्किदै छु, जन्मपछि मुत्यु शास्वत सत्य भए पनि अकस्मात र अकल्पनीय रूपमा भएको निधनलाई देखेर भारी मन सहित लेख्दैछु ‘हार्दिक श्रद्धान्जली कमरेड सुवास’ ! शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना!´


