काठमाडौँ, ३० भदौ ।
काठमाडौंको तीनकुने गैह्रीगाउँस्थित दिव्य सःमिलमा भएको सामूहिक हत्या प्रकरणमा प्रहरीले थप चार जना शंकास्पद व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
शुक्रबार मध्यरातमा सःमिलका सुरक्षागार्ड दोलखाका ५५ वर्षीय कुमार भुजेलसहित उनकी श्रीमती ५२ वर्षीय अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङ बेलबारीका २० वर्षीय नवीन राईको हत्या भएको थियो।
नवीनलाई भाइ बताउने २८ वर्षीय विपेन राईलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार उनी आफै ट्याक्सी चढेर तीनकुनेस्थित प्रहरी कार्यालय पुगेका थिए।
खबरपश्चात तत्काल सःमिल पुगेको प्रहरीले चार जनाको विभत्स हत्या भएको अवस्थामा शव फेला पारेको थियो।
मृतकको टाउको,घाँटी लगायत शरीरका विभिन्न भागहरूमा धारिलो हतियार प्रहार गरेको देखिएको थियो। हत्यामा प्रयोग भएको हतियार भने भेटिएको छैन।
प्रहरी कार्यालयमा विपेनको सोधपुछ जारी रहँदा अपराध महाशाखाको टोली पनि घटनास्थल पुगेको थियो। त्यसपछि तालिमप्राप्त कुकुर परिचालन गरिएको थियो। कुकुर जडिबुटीसम्म पुगेको थियो।
सोही आधारमा प्रहरीले थप चार जनालाई जडिबुटी क्षेत्रबाट नियन्त्रणमा लिइ सोधपुछ गरिरहेको स्रोतले बतायो।


