थारु समुदायमा अट्वारी रौनक – Kanika Khabar
Sunday, July 14Nepali News Portal

थारु समुदायमा अट्वारी रौनक

    मा प्रकाशित

इन्द्र डिसी

दाङ, ३१ भदौ ।

थारु समुदायमा धार्मिक एवम् सांस्कृतिक महत्वको अट्वारी पर्वको रौनक छाएको छ । भदौ महिनाको कुसेऔँसी पछिको पहिलो आइतवारका दिन थारु समुदायले दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै अट्वारी पर्व मनाउँदै छन् ।

यो वर्षको अटवारी पर्व भदौ ३१ (आज) परेको छ । यो पर्वमा दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै पानीसमेत नपिएर दिनभर ब्रत बसी साँझ पुरुषद्वारा नै गुइँठाको आगोमा सल्लाको धुप बनाइ बालेर भीमको पूजा गर्ने प्रचलन रहेको थारु अगुवाहरू बताउँछन् ।

ब्रतपछि गहूँको पीठोबाट बनेको खुर्मा, अनदीको चामलको बरिया, रोटीलगायत पकवान र फलफूल अग्निदेवतालाई अर्पण गरी दिदीबहिनीलाई केही भाग छुट्याएर बाँकी भाग ब्रतालुले खाने चलन छ । दिदीबहिनीलाई छुट्याएको भागलाई अग्रासन भनिन्छ । दिदीबहिनीले दाजुभाइलाई उपहार दिने गर्छन् । अट्वारीको दोस्रो दिन फुलौरी, केराउ, पटौला, ठच्चालगायत पकवान र माछाको सिद्रा ब्रतालुले ग्रहण गर्छन् ।

यो पर्व थारु समुदायले ठूलो पर्वका रूपमा मनाउने चलन भएको थारु कल्याणकारिणी सभा दाङका पूर्व अध्यक्ष भुवन चौधरीले बताए । थारु समुदायको बसोबास रहेको दाङसहित बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत क्षेत्रमा अट्वारी पर्वलाई विशेष महत्वका साथ मनाउने गरिन्छ । यो पर्वमा विशेष गरी दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै दिनभर ब्रत बसी साँझपख भीमको पूजा गर्दछन् ।

अट्वारी पर्वको अवसरमा लुम्बिनी प्रदेश सरकारले सम्बन्धित समुदायलाई सार्वजनिक बिदा दिएको छ भने स्थानीय सरकारले समेत सार्वजनिक बिदा दिएका छन् । घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, राप्ती गाउँपालिकाले अट्वारी पर्वको सार्वजनिक बिदा दिएका छन् । पालिकामा थारु समुदायको उल्लेख्य बसोबास रहेकाले उनीहरूलाई खुसीका साथ पर्व मनाउन sdfस्थानीय बिदा गरिएको पालिकाले जनाएका छन् ।

नेपालको कूल जनसङ्ख्यामध्ये थारुको जनसङ्ख्या ६ दशमलव २ प्रतिशत अर्थात् १८ लाख ७ हजार एक सय २४ रहेको छ । हरेक जातजाति तथा समुदायको भिन्नाभिन्नै मौलिक पहिचान जस्तै संस्कृति, भेषभूषा, साहित्य, कला, रीतिरिवाज, चालचलन छन् ।

थारुहरूको पनि आफ्नै मौलिक संस्कृति, भेषभूषा, साहित्य, कला, रीतिरिवाज, चालचलन छ । अट्वारी पर्व थारुहरूको एउटा मौलिक पर्व हो । यो पर्वलाई थारु भाषामा ‘बर्का अट्वारी’ भन्ने चलन छ । थारुहरू बल र पौरखमा विश्वास राख्छन् । अट्वारी पर्वमा विशेष गरी थारु पुरुषहरू बलको प्रतीक मानिने भीमको ब्रत बस्दछन् र भीमलाई नै पूजाअर्चना चढाउँछन् ।

थारुहरू यो पर्व द्वापर युगको पाँच पाण्डवसँग जोडिएको विश्वास गर्छन् । पाण्डवका जेठा पुत्र युधिष्ठिरले सहायताको लागि आफ्ना माहिला भाइ भीमलाई खटाए । भीमको सहायतामा दंगीशरण राजाले विजय प्राप्त गरेको र त्यही उल्लासमा यो पर्व मनाउने चलन भएको सामाजिक किम्बदन्ती छ । भीमले थारु राजा दंगीसरणलाई युद्धमा सघाई युद्ध जितेकाले त्यसको सम्मान स्वरूप सम्झनामा थारुहरू अट्वारी पर्वमा नफर्काइ एकोहोरो पकाएको पहिलो रोटी भीमको नाममा चढाई पूजा गर्ने प्रचलन छ ।

यो पर्वमा विशेष गरी माछा, गँगटा, घोँघीलगायत अन्य परिकार पाक्ने गर्छन् । आइतवार दिउँसोतिर गाउँका सबैजना मिलेर गैन्यारी काठ घोटेर चोखो आगो उत्पादन गर्ने चलन छ । ‘काठ घोटेर चोखो आगो उत्पादन गर्ने र त्यसैमा भीमलाई चढाउनलाई एकोहोरो रोटी पकाउँछन्’, पत्रकार सन्तोष दहितले भने, ‘रोटी पाकेपछि सबै ब्रतालुहरू स्नान गरी पूजामा सहभागी हुन्छन् ।’

पाँच पाण्डवका चार भाइले खाना खानुभन्दा अगाडि आ–आफ्नो भागबाट आधा–आधा भाग भीमको लागि छुट्याउँथे, यसैगरी आज पनि थारुहरू अट्वारीमा आफ्नो भागबाट आधा भाग भीमको लागि छुट्याएर मात्र खान्छन् । त्यस दिन ब्रतालुहरू नूनलगायत जुठो मानिने अन्य खाने कुरा खाँदैनन् । यो पर्वमा खाना पकाउने जिम्मा ब्रतालु पुरुषकै हुन्छ । भातलगायत तरकारीमा बिजोडा तरकारी पकाउने चलन छ ।

अट्वारीमा साँझ र बिहान ब्रतालुहरूले आ–आफ्नो भागबाट आधा–आधा निकाल्ने चलन छ । त्यो भागलाई ‘अग्रासन’ भनिन्छ । यो अग्रासनको अग्राधिकार ब्रतालुको दिदीबहिनीको हुन्छ । अग्रासन दिन गएको बेला दिदीभाइ, दाइबहिनीहरू अट्वारीको खुसियाली साटासाट गर्छन् । ‘अट्वारीले चेली र माइतीको मिलनविन्दु समेत हो’, पत्रकार दहितले भने ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्