बढ्दै तीजको रौनक, आज दर खाने – Kanika Khabar
Saturday, September 30Nepali News Portal

बढ्दै तीजको रौनक, आज दर खाने

    मा प्रकाशित
दाङ, ३१ भदौ ।
महिलाहरूको महान चाड तीजको अघिल्लो दिन आज दर खाइँदै छ । भाद्र शुक्लपक्ष द्वितिया अर्थात् हरितालिका तिजको अघिल्लो दिन तीजको निराहार ब्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दु नारीहरूले दर खाने परम्परा छ ।
दर खाने दिनमा विभिन्न मिठा परिकार बनाएर खाने र नाँचगान गरेर रमाइलो गर्ने चलन छ । माइतीले चेलीबेटीलाई बोलाइ दर खुवाउने परम्परा छ । दर खाने दिनको भोलिपल्ट तिज पर्व पर्दछ । तीजको दिन निराहार ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक तत्व भएका खानेकुरा खाने चलन चलेको छ ।
दर खाने समय र स्थान भने ठाउँअनुसार फरक–फरक रहेको छ । कतै साँझमा अन्य चिज नखाइ दर खाने प्रचलन छ भने कतिपय स्थानमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ । परापूर्वकालमा देवी पार्वतीले भगवान् शिवलाई स्वामी पाउँ भनी निराहार ब्रत बसेको र उनको कामना पूरा भएको विश्वास अझै कायमै रहेकाले अविवाहिताले राम्रो पति पाउन र विवाहिताले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै तिज पर्व मनाउने चलन छ ।
तिजको ब्रत सक्नेले निराहार बस्ने भएकाले आज ब्रतालुले शक्ति प्राप्तिका लागि मिठा–मिठा एवम् आडिलो परिकार दरका रूपमा खाई ब्रतका लागि पूर्व तयारी गर्छन् । विशेष गरी माइती एवम् दाजुभाइले छोरी, चेली, दिदीबहिनीलाई बोलाइ दर खुवाउने गर्दछन् । महिलाले वर्ष दिनभर आफूलाई परेका दुःख, पिर, मर्कालाई पोख्ने पर्वका रूपमा समेत तिजलाई उपयोग गर्ने गरेका छन् । तिजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाले सार्वजनिक गर्दछन् । जन्मघरबाट कर्मघरमा गई बस्दा पाएका दुःख, पिर, मर्कालाई नारीले पोख्ने गरेका छन् ।
विकृति बन्दै तिजको संस्कृति
पछिल्ला वर्षहरूमा तिजका नाममा उच्छृङ्खलता र तडकभडक आएको छ । एक महिना अघिदेखि दर खाने, गरगहना एवम् पोसाक प्रदर्शन गर्नेजस्ता गतिविधिले तिजको संस्कृतिलाई विकृतिका रूपमा लैजान खोजेको छ । विगतका वर्षमा कोरोनाका कारण केही कम भए पनि यस वर्ष भने दर खानेलगायत गतिविधि एक महिनादेखि नै सुरु भएको छ ।
एक महिना अघिदेखि नै दर खाने चलन पछिल्लो समय बढ्न थाले पनि भाद्र शुक्लपक्ष द्वितियाको बेलुकीको समय शास्त्रीयरूपमा दर खाने दिनका लागि तोकिएको छ । पछिल्लो समय सरकारी कार्यालयमा समेत तिज कार्यक्रमको तामझाम हुने गरेको छ । समाजमा सुरु भएको विकृति रोक्नु पर्ने जिम्मेवारी बोकेका सरकारी कार्यालय नै विकृतिको भासमा जाकिएपछि यसले संस्थागत रूप लिँदै गएको छ ।
"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्