दाङ, ३ असाेज ।
सरकारले किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ अभियानको समयावधि थप गरेकाे छ ।
खोप अभियान समयावधि थप गरेर असोज ५ गतेसम्म सञ्चालन हुने स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले जानकारी दिएका हुन् । उनले भने, ‘लक्षित किशोरीलाई खोप लगाउनका बाँकी रहेकाले समय थप गरिएको हो ।’
सरकारले पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ नौ हजार नौ सय ९९ किशोरीलाई लगाउने लक्ष्य राखिएको छ । गत भदौ २७ गते सात प्रदेशका सातवटै अस्पतालबाट १४ वर्ष उमेर पूरा भई १५ वर्ष नकटेका किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउनका लागि ‘एचपीभी’ खोप ‘डेमोस्ट्रेसन’का रूपमा सञ्चालन गरिएको छ ।
मन्त्रालयले सबै किशोरीका अभिभावकलाई खोप लगाउनका लागि खोप केन्द्रमा लैजान आग्रह गरेको छ । खोप २०६५ भदौ ३० देखि २०६६ भदौ २० सम्म जन्मेका किशोरीलाई दिइने छ ।
नेपालका महिलालाई लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर सबभन्दा बढी लाग्ने गर्दछ । महिलामा असुरक्षित यौन सम्पर्क, धुमपान र सानै उमेरमा विवाह गर्नेजस्ता कारणले पाठेघरको मुखमा क्यान्सर हुने जनाइएको छ ।


