आलोक भावुक
गढवा, ४ असोज ।
देउखुरीको गढवा गाउँपालिका–१ जेठानगाउँमा भएको निशुल्क स्वास्थ्य शिविरमा तीन सय बढीले सेवा लिएका छन् । गोबरडिया स्वास्थ्य चौकीमा भएको निशुल्क मृगौला तथा नसर्ने रोग सम्बन्धी स्वास्थ्य शिविरमा स्थानीयले सेवा लिएका हुन ।
लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको आयोजना तथा गढवा गाउँपालिका गाउँ कार्यपालिकाको समन्वयमा भएको एक दिने निशुल्क मृगौला तथा अन्य नसर्ने रोग सम्बन्धी निशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा नसर्ने रोग सम्बन्धी सचेतना समेत दिइएको थियो । शिविरमा सेवा लिने ३ सय १२ जनाले सेवा लिएका थिए ।
शिविरमा ४५ जना विरामीहरुको ल्याव चेकजाँच गरिएको थियो । उनीहरु मध्य ६ जनालाई सुगर र एक जनालाई युरिक एसिड देखिएको गढवा स्वास्थ्य चौकीका ल्याब टेक्निसियन अरविन श्रेष्ठले जानकारी दिएका छन् । मृगौलाका बिरामी पहिचान गर्ने उद्देश्यले सुगरका बिरामी, युरिक एसिड, होमोग्लोबिन, बाथरोगलगाएतका रोगहरुको निशुल्क ल्याबको व्यवस्थापन गरेको थियो। चेकजाँच गरिएको बिरामीहरूल्ई निशुल्क औषधी वितरण गरेको गढवा गाउँपालिकाले जनाएको छ ।
कार्यक्रममा बोल्दै कार्यक्रमका गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले संविधान दिवशको अवसरमा पालिकाभित्रका सबै स्थानीय बासीहरुको स्वास्थ्यलाई ख्याल गर्दै मृगौला रोगलाई लक्षित गरेर स्वास्थ्य शिविर सञ्चालन गरिएको बताए । गढवा गाउँपालिकाले स्वास्थ्यको क्षेत्रमा सुरुवात कालदेखि नै विशेष कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताउदै अध्यक्ष पोख्रेलले रोग लागेर सहयोग गर्नुको साटो पालिकाबासीलाई रोगै लाग्न नदिने गरी बिशेष कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताए ।
कार्यक्रममा गढवा गाउँपालिका उपाध्यक्ष शरदा कुमारी चौधरीले गाउँपालिका सबै वडालाई समेट्ने गरी पटक पटक विभिन्न स्वास्थ्य शिविर र निशुल्क चेकजाँच कार्यक्रम गर्दै आएको बताइन । कार्यक्रममा गढवा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष तथा गोबरडिया स्वास्थ्य चौकीका सञ्चालन समितिका अध्यक्ष बाबुराम अधिकारीले समयमा स्वास्थ्य परिक्षण गर्ने बानी नहुँदा अकालमै ज्यान गुमाउनु परेको बताए ।
गढवा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष बाबुराम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर २ का वडाध्यक्ष भक्तु चौधरी, वडा सदस्यहरु राधेश्याम थारु कुमाल, देविलाल थारु कुमाल, दिलबसी बिक, लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय सचिवालयका सम्भु घिमिरे, प्रदेश अस्पताल भालुवाङका डाक्टर पौडेस ज्ञवाली र डा. सन्तोष केसी,गढवा स्वास्थ्य चौकीका डाक्टर इन्द्र कुमार चौधरी, गोबरडिहा स्वास्थ्य चौकीका प्रमुख खुमानन्द भट्टराई, स्वास्थ्य शाखाका द्रौपदा सुबेदी, दिपेश श्रेष्ठ लगायतकाको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण महदेवा आधारभुत स्वास्थ्य सेवा केन्द्रका प्रमुख रामराज पौडेलले गरेका थिए ।


