काठमाडौं, १६ असाेज ।
चीनको हान्झाउमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ ।
भारतले दिएको २०३ रनको लक्ष्य पछ्याएको नेपाल २३ रनले पराजित भएको हो ।
नेपालले ९ विकेट गुमाएर १७९ रन मात्रै बनायो ।
टस जितेर ब्याटिङ गरेको भारतले यशस्वी जैसवालको शतक मद्दतमा निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०२ रन बनाएको थियो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले १५ बलमा चार छक्कासहित ३२ र सन्दीप जोराले १२ बलमा ३ छक्कासहित २९ रन बनाए। कुशल भुर्तेलले २८, कुशल मल्ल २९ र आसिफ शेखले १० रन बनाए। कप्तान रोहित पौडेलले ३ रन मात्र जोड्न सके। सोमपाल कामी ७ र गुल्सन झा ६ रन बनाएर आउट भए।
भारतका रवि विस्नोई र आभेस खानले ३र३ र अर्सदिप सिंहले २ विकेट लिए। १४०- ५ को अवस्थामा रहेको नेपालले सोही स्थितिमा जोरालाई गुमाएपछि थप संकटमा परेको थियो।
नेपालले २९ रन जोड्द पहिलो विकेट गुमाएको थियो। ७६-२ को अवस्थामा नेपालले एक रनको अन्तरमा दुई विकेट गुमाएको थियो। नेपालले खेलमा १४ छक्का र ११ चौका प्रहार गरेको थियो।
त्यसअघि टस जितेर ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०२ रन जोडेको थियो।


