दाङ, २३ असोज ।
यतिबेला नेपाली सुगम सङ्गीतमा अर्को कर्णप्रिय आवाजले साङ्गीतिक बजार तताएको छ । सामाजिक सञ्जाल फेसबुक, टिकटक, युट्युबमा बाक्लो रपमा गुन्जन थालेको छ, ‘एक दिन उज्यालो छाउला, मेरो पनि दिन आउला…..।’
नेपाली गीत सङ्गीतको क्षेत्रमा गोविन्द मधुर आचार्य चिरपरिचित नाम हो । सङ्गीतप्रेमीका लागि आशाको दीप हुन् आचार्य । सङ्ख्यात्मकभन्दा गुणात्मक कर्ममा रमाउने आचार्य हल्ला थोरै कर्म धेरै गर्ने सङ्गीतकर्मी हुन् ।
पूजा, मेला पर्वमा लोक गीतका सुरिलो स्वर सुरेल्दासुरेल्दै सङ्गीतको सगरमाथा चढ्न राजधानी छिरेका आचार्य निरन्तर सङ्गीतकर्ममा तल्लीन छन् । गीतका त्रिपक्षीय दक्षता राख्ने आचार्यसँग शब्द रचना, सङ्गीत कम्पोज र स्वरको जादु छर्ने ल्याकत रहेको छ । प्रायः आफ्नै शब्द र सङ्गीतमा आवाजको जादु भर्ने आचार्यले ‘एक दिन उज्यालो छाउला, मेरो पनि दिन आउला’ बोलको गीतमा पनि आफै सङ्गीत भरेका छन् । दिनेश अधिकारीसँगै आचार्यको पनि शब्द रहेको प्रस्तुत गीतमा आचार्यले कर्णप्रिय स्वरको सुवास छरेकका छन् । अहिले बजारमा हेर्ने गीतहरुको लहर चलिरहेको बेला सुन्ने गीतलाई साङ्गीतिक बजारमा दर्ज गर्न सफल भएका आचार्यले राम्रै सफलता बटुल्दै आएका छन् ।
गोविन्द मधुर आचार्य युट्युब च्यानलबाट ‘लिप सिङ’ भिडियो मात्र सार्वजनिक गरेका आचार्यलाई भिडियो निर्माणमा सुलभ आचार्यले साथ दिएका छन् । छायाङ्कन, सम्पादन र निर्देशन सुलभ आचार्यको रहेको भिडियोमा आइ टी सर्पोट सरोज केसीले गरेका छन् । तरङ्ग रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको उत्पादन पक्षमा सिर्जना आचार्य रहेकी छिन् ।
आचार्यका यसअघि चोली फाट्यो कि, तिम्रो भइन भने, भाग्यमै लेख्नु, तिमीले मलाई, बदनाम त मेरै, सिउँदो तिम्रो, तिमीसँगै लगायत दर्जनौं गीत बजारमा आइसकेका छन् । भरखरै मात्र रिलिज भएको चलचित्र ‘बुलाकी’ को शीर्ष गीत नाच सुबा नाच…. मा पनि आचार्यकै रचना र सङ्गीत रहेको छ ।