तोकियो खसी बोकाको मूल्य – Kanika Khabar
Monday, February 16Nepali News Portal

तोकियो खसी बोकाको मूल्य

    मा प्रकाशित

दाङ, २६ असोज ।

जिल्लामा खसी–बोका खरिदका लागि मूल्य निर्धारण गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरिद गरेर काठमाडौं पठाउनका लागि मूल्य निर्धारण गरिएको हो ।
प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने समितिले मुल्य निर्धारण गर्ने गर्दछ । बुधवार बसेको बैठकले मूल्य निर्धारण गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय तुलसीपुरका प्रमुख तिलक सुुनारले बताए । उनका अनुसार जिउँदो खसी २५ केजीभन्दा माथिका प्रतिकेजी ५ सय ६२ रुपैयाँ तोकिएको छ ।

यस्तै खसी २० देखि २५ केजीसम्मको प्रतिकेजी ५ सय ४५ रुपैयाँ निर्धारण गरिएको छ । बोका १८ केजी भन्दामाथि प्रतिकेजी ५ सय ४२ रुपैयाँ निर्धारण गरिएको प्रमुख सुनारले बताए । मूल्य निर्धारणसँगै खसी, बोका खरिद गर्न सुरु गरिने समेत उनले बताए । मूल्य निर्धारण हुन नसक्दा खरिदको काम समेत अगाडि बढ्न सकेको थिएन् । सबै क्षेत्रबाट मूल्य ल्याएर समितिले मूल्य निर्धारण गरेको उनको भनाइ छ ।

व्यापार कम्पनीले असोज २८ गतेदेखि कार्तिक २ गतेसम्म खसी–बोका खरिद गरेर काठमाडौं पठाउने भएको छ । ढुवानीका लागि सूचना आह्वान गरिसकिएको प्रमुख सुनारले बताए । केही दिनमा त्यसको पनि टुङ्गो लाग्ने उनले बताए । ‘खसी–बोका खरिदका लागि आवश्यक सबै प्रक्रिया पूरा भएका छन्’, उनले भने । खाद्य व्यापार कम्पनीले यस वर्ष ७ सय खसी–बोका काठमाडौं लैजाने भएको छ । खसी–बोका बिक्रीका लागि कृषक सम्पर्कमा आइसकेको पनि उनले बताए ।

‘कृषक सम्पर्कमा आइरहनु भएको छ, विहीवारदेखि उहाँहरूको नाम टिप्ने काम हुनेछ’, उनले भने । सम्पर्कमा आएकासँग नपुग्ने भएमा तुलसीपुर उपमहानगरपालिका, दंगीशरण, शान्तिनगर, बबई गाउँपालिका र देउखुरी भेगबाट खरिद गरिने प्रमुख सुनारले बताए । हरेक वर्ष खाद्य व्यापार कम्पनीले जिल्लाबाट खसी–बोका खरिद गरेर काठमाडौं पठाउने गर्दछ । यसले बाख्रापालक कृषकलाई समेत सहज हुने गरेको छ । ‘घर नजिकै राम्रो मूल्य पाउने भएकाले कृषकलाई समेत सहज हुन्छ’, प्रमुख सुनारले भने ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्