
दाङ,११ कात्तिक ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका राजनीतिक सल्लाहकार तथा पूर्वमन्त्री हरिबोल गजुरेलले दाङस्थित वार्ता भवनको अवलोकन गरेका छन् ।
शुक्रबार गजुरेलसहित लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीलगायतले भवनको अवलोकन गरेका हुन् ।
दाङ बबई गाउँपालिका स्थित हापुरेमा २०६० सालमा तेस्रो पटक शान्तिवार्ता भएको थियो । सोही स्थान एतिहासिक भएकाले आफूले अवलोकन गरेको र त्यसलाई संरक्षण गर्न पहल थाल्ने गजुरेलले बताए ।
जहाँ शान्तिवार्ता हुँदा तत्कालीन माओवादीको तर्फबाट डा.बाबुराम भट्टराई, राम बहादुर थापा‘बादल’ र कृष्ण बहादुर महरा थिए, भने तत्कालिन सरकारको तर्फबाट कमल थापा र प्रकाश चन्द्र लोहनी सहभागी थिए ।
तर वार्ता भने सफल हुन सकेको थिएन् । त्यो वार्ता त्यहाँका बासिन्दाले अहिले पनि झलझली सम्झिरहन्छन् । स्थानीय शिबलाल खत्रीको घरमा वार्ता भएको थियो । त्यो घर अहिले पनि सुरक्षित छ ।
शान्तिवार्ता भएको घरमा अहिले पनि खत्रीको परिवार बस्दै आएको छ । उनको कोठामा नेता डा. बाबुराम भट्टराई र कृष्ण बहादुर महराको फोटो राखिएको छ । इतिहास बोकेको घरको सम्झना स्वरुप फोटो राखेको खत्रीले बताए ।

उक्त स्थानलाई नमुना संग्राहलय बनाउनु पर्ने उनको माग छ । द्वन्द्वकालमा एउटा इतिहास बनाएको उक्त स्थानमा कुनै पनि चिनो नराखिएको भन्दै उनले त्यसको संरचना र चिनारीका लागि संग्राहलय बनाउनु पर्ने बताए । यसका लागि राज्यले पनि पहल थाल्नु पर्ने उनको भनाई छ ।
शान्तिवार्ता भएको उक्त घर संरक्षण गरे आउने पुस्तालाई पनि ईतिहास थाहा हुने भन्दै शान्तिवार्ता भएको स्थानलाई सुरक्षित राख्नु पर्ने खत्रीको भनाई छ ।
सहरीकरणका लागि डिपिआर हुने
दाङको ऐतिहासिक हापुरे बजारको बस्ती विकास तथा सहरीकरण गरिने भएको छ । त्यसका लागि लुम्बिनी प्रदेश सरकारले बजेट बिनियोजन गरेको छ । अर्थमन्त्री धनबहादुर मास्कीले हापुरे बजार एतिहासिक रहेकाले त्यहाको व्यवस्थित सहरीकरण आवश्यक रहेको बताए । त्यसका लागि प्रदेश सरकारले ५० लाख बजेट बिनियोजन गरेको उनको भनाई छ । हापुरेमा शान्ति वार्ता समेत भएको हो । वार्ता भएपछि त्यो बजारका राष्ट्रिय रुपमा चर्चा हुने गर्छ । त्यस्तै दाङ–सुर्खेत सडक खण्डको एउटा केन्द्रका रुपमा समेत हापुरे बजारलाई लिइएको छ ।


