दाङ, १९ कार्तिक ।
टी–२० विश्वकप छनोट खेलको फाइनलमा नेपालले ओमानलाई १८५ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको छ ।
गुल्सन झाले २५ बलमा ५४ रनको योगदान गरे। गुल्सनले ५ चौका र ४ छक्का प्रहार गर्दा नेपालको रन स्कोर बढेको थियो। उनले पाँचौ विकेटका लागि कप्तान रोहित कुमार पौडेलेसँग ७८ रनको साझेदारी गरे।
गुल्सन दशौं ओभरमा कुशल मल्ल ३ रनमा आउट भएपछि मैदान छिरेका थिए। मल्ल आउट हुँदा नेपालले ४ विकेटको क्षतिमा ६० रन जोडेको थियो।
गुल्सनसँगै कप्तान रोहित पौडेलको अर्धशतक पनि नेपालका लगि महत्वपूर्ण सावित भयो। रोहितले नटआउट ५२ रन जोडे। उनले ३७ बलमा ५ चौका र २ छक्का प्रहार गरे।
यस्तै करण केसीले नटआउट २० रन जोडे। करणले ५ बलमा १ चौका र २ छक्का प्रहार गरे। नेपालले अन्तिम ओभरमा ओमानका फयज बटलाई २४ रन प्रहार गरेको थियो।