‘स्थानीय तहसँग प्रदेश सभा कार्यक्रम’ – Kanika Khabar
Tuesday, February 17Nepali News Portal

‘स्थानीय तहसँग प्रदेश सभा कार्यक्रम’

    मा प्रकाशित

देउखुरी, २३ कार्तिक । स्थानीय तहमा कानुन निर्माण र कार्यान्वयनको अवस्थाबारे जनप्रतिनिधिसँग छलफल गर्न लुम्बिनी प्रदेश सभाले कार्यक्रमको सुरुवात गरेको छ । बुधवार प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी)बाट लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले कार्यक्रमको सुरुवात गरेका हुन् ।

लुम्बिनी प्रदेश सभा र स्थानीय तहबिच कानुन निर्माण तथा कार्यान्वयसम्बन्धी अन्तरक्रियात्मक गोष्ठीको शुभारम्भ गर्दै सभामुख घर्ती मगरले जनतालाई अवसरको उपयोग र सुविधा प्रदान गर्न सङ्घीयताको अभ्यास गरिएको बताउँदै केन्द्रमा अधिकार केन्द्रित गरेमा त्यसको अनुभूति हुन नसक्ने बताए । उनले भने, ‘नियन्त्रित सङ्घीयता जनताले खोजेको सङ्घीय शासन प्रणाली होइन, स्वायत्तता सहितको सङ्घीयता चाहिएको छ । स्थानीय तह र प्रदेशलाई अधिकार सम्पन्न बनाउनु पर्छ ।’ उनले स्थानीय तह र प्रदेश सभाको अन्तरसम्बन्धको महत्वलाई बुझाउन प्रदेशकै १२ जिल्लामा कार्यक्रा सञ्चालन गरिने बताए ।

देउखुरीका ४ पालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्षहरू सहभागी भएको कार्यक्रममा प्रदेश सभामुख मगरले भने, ‘स्थानीय तहले कति कानुन बनाए, कस्ता कानुन बनाए, कानुन निर्माणमा स्थानीय तह र प्रदेश सभाको सम्बन्ध स्थापित गर्न पनि जरुरी देखिएको छ ।’ सभामुख घर्ती मगरले स्थानीय तहले बनाएका कानुनबारे प्रदेश सभालाई जानकारी दिने कानुनी व्यवस्था भए पनि कुनै पालिकाले कानुनबारे जानकारी नदिने गरेको बताए ।

कार्यक्रममा उपसभामुख मेनुका खाँड केसीले स्थानीय तह र प्रदेश सभाको सम्बन्ध स्थापित गर्न यो कार्यक्रम प्रभावकारी बन्ने विश्वास व्यक्त गरिन् । कार्यक्रममा सहभागी पालिका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्षहरूले कानुन निर्माणको लागि जनप्रतिनिधिलाई क्षमता अभिवृद्धिलगायतका कार्यक्रम सञ्चालन गर्न, कानुन बनाउनु अघि स्थानीय तहसँग परामर्श छलफल गर्न आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा लमही नगरपालिका प्रमुख जोगराज चौधरी, उपाध्यक्ष लक्ष्मी योगी, राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापति चौधरी, गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, उपाध्यक्ष शारदाकुमारी चौधरी र राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपतिदेवी यादवलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अमरराज शर्मा, राप्ती गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वली, राजपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पाण्डेय, लमही नगरपालिका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्रप्रसाद श्रेष्ठले पालिकामा भएको कानुन निर्माण र कार्यान्वयनको अवस्थाबारे जानकारी दिएका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्