दाङ, २९ कार्तिक ।
नेपाली सिनेमा हलहरुले सिनेमा सो कम दिएको भन्दै चलचित्र ‘दिमाग खराब’ निर्माण टोलीले चलचित्र प्रदर्शन रोक्ने घोषणा गरेको छ । विदेशी चलचित्रको तुलनामा हलहरुले सो समय कम दिएको भन्दै निर्माण टोलीले चलचित्र प्रदर्शन रोक्ने घोषणा गरेको हो ।
चलचित्र ‘दिमाग खराब’ का निर्माता रौनक विक्रम कँडेल र निर्देशक निश्चल बस्नेतले एक विज्ञप्ति जारी गरी हलहरुले सिनेमा सो का लागि कम समय दिएको बताएका छन् ।
‘कात्तिक २४ देखि नेपाली चलचित्र दिमाग खराब संसारभर चलिरहेको छ । दर्शकहरुको अथाह माया र सद्भाव अनि चलचित्र दिमाग खरावप्रतिको चासोका कारण दिन प्रतिदिन चलचित्र हेर्न दर्शकहरु बढिरहनुभएको छ । हामीलाई त्यो कुराले अझै जिम्वेवार बनाएको छ । र, आगामी दिनमा हामीले अझै राम्रो चलचित्र बनाउने कोसिस गर्नेछौँ । तर, विगतदेखि हामी नेपाली चलचित्र निर्माताले चलचित्र प्रदर्शकहरुबाट सधैं अन्यायपूर्ण व्यवहार खेप्दै आएका छौं । विदेशी चलचित्रलाई विना तर्क प्रशस्तै सोहरु दिने र दर्शकको अत्यधिक चासो भएको र दर्शकहरुले हेर्न खोजेका नेपाली चलचित्रलाई पनि आवश्यक सो नदिने प्रचलन पुरानै हो । पहिलो र दोस्रो हप्ता निर्माता र हल संचालकमा हुने सेयर बाँडफाड ५०% / ५०% प्रतिशत हुन्छ । तर तेस्रो हप्तादेखि निर्मातालाई ३५% र प्रदर्शकलाई ६५% सेयर बाँडिने कुरा पनि हामीले जाहेर गर्दछौं र यो अन्यायपूर्ण व्यवहार निरन्तर जारी रहेको हुनाले हामीले प्रतिवाद गर्ने निर्णय गरेका छौं । हाम्रो निर्णयले सम्मानित दर्शकहरुमा पर्न जाने असुविधाप्रति हामी क्षमाप्रार्थी छौं । हामीले चाहेको समान व्यवहार हो र जबसम्म विदेशी चलचित्र र नेपाली चलचित्रलाई बराबर सो प्रदान गरिदैन र फिल्म प्रदर्शन भइरहुन्जेल बराबरी सेयर बाँडफाँड हुँदैन तबसम्मको लागि नेपालमा चलचित्र प्रर्दशन रोक्ने निर्णय गरेका छौं । समान व्यवहार भए सिनेमा हलमै प्रदर्शन गर्नेछौं नभए अरु कुनै माध्यमबाट हाम्रो सिनेमा दिमाग खराव दर्शकहरुलाई देखाउने छौं भन्ने प्रतिवद्धता पनि व्यक्त गर्दछौं ।’ जारी विज्ञप्तिमा उल्लेख छ ।