✍️अनुजा घिमिरे (संस्कृति)
हिजोसम्म हो
मैले चलाएको खुकुरी
र यादहरु आउनु,
आज-आज
अहिले भएर आफैँ अचानो हुँदा
कहाँ छुट्छ दुखाइका पश्चतापहरु,
चट्याङ झरेजस्तो लाग्छ अहिले
उहिले खसाल्दा झरेका खित्काहरु,
अहिले घोच्दा घाउ दुख्छ भन्नु नसक्दा
सोच्छु फेरि फर्केर आउस्
त्यो समय
यतिबेला म खुकुरी भिरेको हुन्थे
हातमा गुलेली
अनि
हिँडिरहेको हुन्थे फूल खसाल्दै ।
समयको काँध समाउँदा-समाउँदै
घाम डुब्दा भँगेरो उडाइ पठाएको हो
समयले,
अनि
भँगेरोले मेरो अतीतभित्रका
तितोपन,
वसन्तको पात समाउँदा-समाउँदै
झर्दा फूलहरु
समयले
मलाई बिर्सेर ओह्राली लागेको हो
पक्कै !
कति निष्ठुरी छ
मभित्र कठ्याङरिएर मुठ्ठी पार्छ
दुबै हात समयले
र झिकेर मेरो कलेजो
अचानोमाथि राखी फेरि चलाउन खोज्छ
खुकुरी ।
म कहाँ हारेको छु ।