
दाङ, २ मङ्सिर ।
गायिका कोमल वलीलाई मातृशोक परेको छ । गायिका वलीकी आमा दीपा वलीको ८२ वर्षको उमेरमा काठमाडौँको अल्का अस्पतालमा निधन भएको हो । उनको आज शनिबार दिउँसो ११ बजेर ४२ मिनेट जाँदा निधन भएको चिकित्सकहरूले घोषणा गरेका हुन् ।
हड्डीसँग सम्बन्धित ओस्टियोपोरोसिस रोगबाट केही समयअगाडि देखि बिमार ओलीको केही साता यता अल्का अस्पतालमा उपचार भइरहेको थियो ।
१९९८ सालमा रोल्पामा जन्मिएकी दीपा वलीले सङ्कलन गरेको मलमलकिरी जुनकिरी नामको गीतले नै कोमल वलीलाई गायनमा स्थापित गराएको हो । दीपा वलीको सङ्कलन तथा रचनामा रेडियो नेपाल, म्युजिक नेपाल तथा विभिन्न रेकिर्डङ स्टुडियोमा दुई दर्जनभन्दा बढी गीत रेकर्ड भएका छन् ।
दीपा ललित ट्रस्टकी संरक्षक रहेकी दीपा वली २०४३ सालमा राप्ती अञ्चल महिला संगठनमा उपसभापति भएकी थिइन् । उनी नेपाल रेडक्रसकी आजीवन सदस्य पनि हुन् । उनका श्रीमान्, दुई छोरा र दुई छोरी छन् ।


