दाङ, १० मंसिर ।
लुम्बिनी प्रदेश सरकारको पूर्णतामा देखिएको विलम्बका कारण प्रदेश सभाका संसदीय समिति समेत निर्माण हुन सकेका छैनन् । मन्त्रिपरिषद्लाई पूर्णता दिएसँगै संसद्का संसदीय समिति समेत निर्माण गर्ने सरकारको योजना छ तर सरकारले पूर्णता नपाएका कारण संसदीय समिति निर्माणको काम समेत ढिलाइ भएको छ ।
भलै संसदीय समिति निर्माणका लागि सरकारको पूर्णतालाई कुर्नु भने पर्दैन । सरकारको पूर्णता र संसदीय समिति गठनको काम एकैपटक गर्ने भने सरकारको तयारी छ । ‘सरकारको पूर्णता र संसदीय समिति निर्माणको काम सँगै गर्ने भन्ने कुरा हो’, सरकारका प्रवक्ता तथा प्रदेश गृहमन्त्री सन्तोषकुमार पाण्डेले भने, ‘अबको केही दिनमै सरकारले पूर्णता पाउँछ र संसदीय समिति पनि निर्माण हुन्छन्।’
सरकारको पूर्णता र संसदीय समिति निर्माणको काम गठबन्धनबिच सन्तुलन कायम गर्ने नियत सरकारको हो । मन्त्रालय भागबण्डा र समितिको भागबण्डासँगै गरेर गठबन्धनबिच सन्तुलन कायम गर्ने योजना सरकारको हो तर वर्तमान सरकार गठन भएको ६ महिनासम्म पनि संसदीय समिति नबन्दा प्रदेश तथा सरकारको कामकारबाही मनमौजी रूपमा चलिरहेको प्रतिपक्ष एमालेको आरोप छ । उसले सरकारले गरेका कामकारबाही निगरानी कसैले नगरोस् भनेर नियतबस् यस्ता समिति निर्माणमा ढिलाइ गरिएको दाबी समेत गर्छ ।
‘संसद्का विषयगत समिति त तत्कालै बन्नु पर्ने हो, संसद् र सरकारको कामकारबाहीलाई निगरानी गर्ने निकायका रूपमा रहने यस्ता समिति नबनाइँदा सरकारका र संसद्को काममा मनमौजी चल्छ’, एमाले प्रदेश संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री लीला गिरीले भने, ‘यसर्थ सरकार र संसद्को वाच–डगको रूपमा रहने यस्ता समिति तत्कालै बनाइनु पर्छ ।’
सरकार तथा संसद्को कामकारबाहीको निगरानीका लागि मात्रै होइन, कानुन निर्माण तथा सन्दर्भमा पनि यस्ता समिति महत्वपूर्ण हुन्छन् । ‘संसद्मा पेस भएका विधेयकमाथि मसिनो गरी छलफल गर्ने साना तर चुस्त निकाय हुन्, संसदीय समिति’, गिरीले भने, ‘कानुन निर्माणमा समेत यी समितिका भूमिका महत्वपूर्ण हुन्छ तर विडम्बना अहिलेसम्म यस्ता महत्वपूर्ण समिति बनाउन चासो दिइएको छैन ।’
सत्तारुढ दलका अनुसार संसदीय समिति निर्माणका लागि कुनै समस्या देखिन्न । मात्रै सरकारको पूर्णतालाई कुरेर बसेको अवस्था रहेको माओवादी सांसद इन्द्रजित चौधरीले जानकारी दिए । उनका अनुसार संसदीय समितिको भागबण्डा मिलिसकेकाले समिति निर्माणमा कुनै समस्या नरहेको तर सरकारको पूर्णतासँगै समिति निर्माण गर्ने भनिएका कारण अहिलेसम्म समिति निर्माणको काम रोकिएको हो । ‘सरकारको पूर्णतासँगै संसदीय समिति पनि निर्माण गर्ने भन्ने कुरा हो’, सांसद चौधरीले भने, ‘सरकारको पूर्णतामा भएको ढिलाइकै कारण संसदीय समिति पनि अहिलेसम्म बन्न सकेनन् तर यस्ता समिति बनिसक्नु पर्ने हो ।’
संसदीय निर्माणको क्षेत्राधिकार प्रदेश सभाका सभामुखसँग हुन्छ । सभामुखले संसदीय समिति निर्माणका लागि तिहारसम्म दलहरूको बाटो हेरेका थिए । तत्काल सरकारले पूर्णता नपाउने अवस्था भए सभामुखले चाँडै संसदीय समिति गठन गर्ने माओवादी सांसद् चौधरीले बताए । ‘सरकारको पूर्णता र संसदीय समिति निर्माणको काम सँगै गर्ने भनेर सरकारकाले गरेको आग्रह अनुसार सभामुखज्यूले तिहारसम्म बाटो हेर्नुभएको हो’, सांसद चौधरीले भने, ‘तर अब तत्काल सरकारले पूर्णता नपाउने अवस्था भए, सभामुखज्यूले चाँडै संसदीय समिति गठन गर्नु हुन्छ ।’
संसदीय समितिको भागबण्डामा भने सबै दलहरू सहमत भइसकेका छन् । प्रतिपक्ष एमालेलाई दुईवटा संसदीय समितिको नेतृत्व दिएर बाँकी ४ संसदीय समिति सत्ता पक्षीय गठबन्धनबिच भागबण्डा गर्ने सहमति भएको छ । प्रदेश सभामा अहिले ६ संसदीय दल छन् । ‘प्रतिपक्ष दल एमालेलाई दुईवटा समितिको नेतृत्व दिने र बाँकी ४ समिति गठबन्धनमा आबद्ध दलबिच भागबण्डा गर्ने सहमति भएको हो’, माओवादी सांसद चौधरीले भने, ‘समितिको भागबण्डामा कुनै समस्या छैन, मात्रै सरकारको पूर्णतासँग यो विषय जोडिएका कारण ढिलाइ भएको हो ।’
एमालेलाई दुईवटा संसदीय समितिको नेतृत्व दिएर सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले दुईवटा समितिको नेतृत्व आफैसँग राख्ने तयारी गरेको छ । एउटा माओवादीलाई र अर्को एउटा साना दलमध्ये एउटालाई समितिको नेतृत्व दिने सहमति भइसकेको कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले जानकारी दिए । ‘संसदीय समिति निर्माणको विषयमा भागबण्डा मिलिसकेको छ, भागबण्डामा कुनै समस्या छैन’, कांग्रेस प्रदेश सभापति पुनले भने, ‘एमालेलाई दुई, कांग्रेसलाई दुई, माओवादीलाई एक र साना दल मध्यबाट राष्ट्रिय जनमोर्चालाई एउटा समितिको नेतृत्व दिने गरी दलबिच सहमति भइसकेको छ ।’
‘सरकारको पूर्णता र संसदीय समिति तत्काल’
सरकारको पूर्णता र संसदीय निर्माणको कामलाई सँगै टुङ्ग्याउने तयारीमा मुख्यमन्त्री छन् । मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जानकीलाल बस्नेतले कांग्रेसको आगामी प्रदेश सम्मेलन लगत्तै सरकारको पूर्णता र संसदीय समिति निर्माणको काम टुङ्ग्याउने तयारीमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरी रहेको जानकारी दिए ।
‘सरकारको पूर्णताको विषय र संसदीय समिति निर्माणको विषयलाई सँगसँगै टुङ्ग्याउनु पर्छ भन्ने मनसाय मुख्यमन्त्रीज्यूको हो’, मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार बस्नेतले भने, ‘कांग्रेसको प्रदेश सम्मेलन लगत्तै यी दुईवटै विषयको काम टुङ्गिन्छ ।’
काङ्ग्रैसको प्रदेश सम्मेलन मंसिर १६ र १७ गते बुटवलमा हुँदैछ । बस्नेतका अनुसार मुख्यमन्त्री चौधरीको अमेरिका भ्रमणका कारण सरकारको पूर्णता र संसदीय समिति निर्माणको काममा केही ढिलाइ भएको थियो । अब भने मुख्यमन्त्रीको ध्यान यी दुई विषयमै केन्द्रित रहेको समेत बस्नेतले जानकारी दिए ।