दुर्गा प्रसाईं जन्माइरहेका ओली र प्रचण्डहरू – Kanika Khabar
Saturday, March 2Nepali News Portal

दुर्गा प्रसाईं जन्माइरहेका ओली र प्रचण्डहरू

    मा प्रकाशित

गजेन्द्र बोहोरा

आठ वर्षअघि नेपाली पर्दामा एउटा सिनेमा आयो – टलकजंग भर्सेज् टुल्के।

समाज अनि राजनीतिले गाउँको एउटा साधारण ‘टलकजंग’लाई कसरी सहरको ‘टुल्के’ बनाउँछरु कथाका पात्रहरूलाई त्यो सन्देश बोकेर निश्चल बस्नेतले गजबको एउटा सामाजिक तस्बिर उतारेका छन् त्यसमा।

विशालनगरको एउटा कोठामा बस्नेतसँग करिब आधा घण्टा गफिएपछि त्योबेला मैले सेतोपाटीमा लेखेको थिएँ, ‘अनि जन्मिन्छन् टुल्केहरू‘।’

टलकजंग र टुल्के यही समाजका सामाजिक पात्र हुन्।

अनि त्यो टलकजंग कसरी टुल्के बन्छ ? ४० वर्षअघिको उर्लाबारीका दुर्गा प्रसाईं र यी दुर्गा प्रसाईंलाई हेरे पुग्छ। राजनीतिमा गाँसिएको स्वार्थ र स्वार्थले गाँजेको राजनीतिलाई एउटा व्यक्तिमात्रैको ‘हर्कत’ले कसरी गिजोल्न सक्छ भन्ने एउटा जीवन्त र साक्षात् पात्र हुन् दुर्गा प्रसाईं।

र, त्यसको क्यानभासमा नेपालको राजनीति। अनि पर्दामा देखिन्छन्, नेपाली काँग्रेस, नेकपा माओवादी र एमालेका कुरुप अनुहारहरू। जसले आज दुर्गा प्रसाईंहरूको लाखौँ भीड जन्माइसकेको छ।

०००

एउटा दुर्गा प्रसाईंसँग एक नेता हैन, एउटा नेतृत्वमात्रै पनि होइन, बरु सिङ्गै व्यवस्था काँप्नुपर्ने दिन आइसकेको छ। चारैतिरबाट घेरिएको ‘राजधानी’ एकैपटक महिनौँको कर्फ्यू आदेश दिइरहेका छन्।

सहरमा मान्छे छन्, जीवनको एउटा लय छ अनि फेरि निषेधाज्ञाका आदेशहरूसँग पलाएको भयले फेरि जीवनका ती लयहरू बिथोलिरहेका छन्।
राजधानी छिर्ने नाकामा बसबाट मान्छे ओराल्दै प्रहरीहरू तिनका पोकापुन्तुरा खोतल्दै छन्, मानौँ संकटकालका ती कथित ‘आतंककारी’हरू ‘काठमाडौँ कब्जा’ गर्न भित्रिरहेछन्।

यिनै जनताले १९ दिनसम्म ज्यान दिएर लड्दै ल्याएको गणतन्त्र हो यो। माइतीघरमा महिनौँ भोकै बस्दा पनि न्यायको ढोका नखोल्ने राज्यले फेरि यी सडकहरूमा ‘निषेध’का आदेश जारी गरिरहेछ।

लाग्छ, यी सडक, सहर अनि सिंहदरबार फगत ती मुठ्ठीभरका शासकको मात्रै हो। माइतीघर उनीहरूकै पुस्तैनी विर्ता हो, जहाँ आमनागरिकले पाइला टेक्न मनाही छ।

राजनीति उनीहरूकै पुर्ख्यौली पेसा हो। आन्दोलन, धर्ना र जुलुसहरू यिनै राजनीतिक दलको मात्रै अंशबण्डा हो, जसलाई चाहे उनीहरूले त्यसलाई पालैपालो उठाउन र दबाउन सक्छन्।

नत्र, प्रधानमन्त्रीले नै लाखौँ मान्छे सडकमा उतार्ने धम्की दिइरहँदा एउटा दुर्गा प्रसाईंले किन लाख मान्छे राजधानीमा देखाउन सक्दैनरु

सबैको जीवनमा हुन्छ। कहिले सफलताहरू आफैँ(आफैँ आउँछन्, कहिले गर्दागर्दै पनि हुँदैन। एउटा आम मान्छेको जीवन बाँचिरहेका दुर्गा प्रसाईंलाई यिनै असफलता र सफलताहरूले समाउँदै अनि लखेट्दै लखेट्दै राजनीतिको ढोकासम्म पुर्‍याएका हुन्।

र, ती ढोका सजिलै खोलिदिए, देउवा, प्रचणड र ओलीहरूले।

जिन्दगी बाँच्नका लागि अलिकति चलाखी त गरेकै हुन् दुर्गा प्रसाईंले। अलिअलि हर्कत पनि देखाएकै हुन्। भैँसी पाल्न लिएको ऋण माग्दा तिनै भैँसी लगेर बैंकमा थुनिदिएका उनको त्यो हर्कतले राजनीति र त्यसका खाँबाहरूलाई पनि सजिलै अठ्याउन सके।

एउटा स्वार्थका लागि काँग्रेसमा र अर्को स्वार्थ पूरा गर्न माओवादीमा छिरेका उनी जब चर्चामा आउन थाले त्यो बेला उनको हातमा एमालेको राजनीतिक फेरो थियो। अनि उनको शीरमा केपी ओलीको आशीर्वाद।

के थियो र दुर्गा प्रसाईंसँग ? अलिकति जिन्दगी बाँच्ने अलि अग्लो सपना। त्यसलाई पूरा गर्न उनले युद्धकालको माओवादीको झण्डा पनि बोके। बन्दुक पनि खेलाए। सैनिक हिरासतको सजाय पनि भोगे। केही पाए। त्यसकै आडमा माइतीबाट पाएको जमिन ‘प्लटिङ’ गरेर अलिकति पैसा कमाए।

बाँकी केही पाउन बाँकी थियो। उनले एमालेको बाटो समाए। ओलीले उनका हात।

केही हुन्छ कि भनेर के सम्म गरेनन्रु ओलीको चरणै परे। प्रचण्डलाई सँगै राखेर ‘मार्सी डिनर’ पनि खुवाएकै हुन्। तरकारी बजारमा रिबन काट्न पनि लगाएकै हुन्।

राजधानीबाहिर सुविधा सम्पन्न अस्पताल खोल्ने भनेर बैंकबाट ऋण लिए। सरकारले मेडिकल कलेज बनाउन पनि दियो। तर चलाउने अनुमति दिएन। अनेक ऐन, कानुनका पर्खालहरू रातारात ठडिए। करोडौँमा ठडिएको मेडिकल कलेज चलाउने अनुमति रोकियो, बैंकको ऋण अड्कियो। ब्याजले टुप्पी कस्यो।

यूएईका राजपरिवारका सदस्यलाई ल्याएर ‘सुनको लौरो’ देखाए। मेडिकल कलेज देखाउनका लागि पत्रकारहरूलाई जहाज चढाएर विर्तामोड पनि पुर्‍याएकै हुन्।

यसपछि मात्रै त हो, नेपाली सञ्चार र सञ्जालहरूमा दुर्गा प्रसाईं छाउन थालेका। ‘मार्सी’ कुटनीतिमा प्रचण्ड अनि केपी ओलीहरूलाई नगाँसेको भए, ओलीले टपक्कै टिपेर एमालेभित्र नछिराएको भए अनि साधारण सदस्यसमेत नभएको मान्छेलाई राजनीतिका विभागीय हाँगाहरू नदिएका भए सायद यी दुर्गा प्रसाईं आज उनीहरूकै लागि ‘आतंक’ बन्ने थिएनन्।

यो हिम्मत अनि साहस उनै केपी ओलीहरू हुन्। यी दुर्गा प्रसाईं जन्माउने यिनै प्रचण्डहरू हुन्। अनि ती दुर्गा प्रसाईंलाई आजको उन्मत्त बनाउने यिनै महेश बस्नेतहरूका अराजनीतिक हर्कतहरू हुन्, जसमा केपी ओलीहरूकै राजनीतिक साइनो गाँसिएको छ।

आज दुर्गा प्रसाईंसँग करोडका महल छन्। करोडका गाडी चढ्छन्, अर्बका व्यवसाय छन्। धन सम्पत्ति सब छ। तर ती सबमा बैंकको ऋण गाँजिएका छन्। ती सम्पत्तिका हरेक अंशमा ऋणका कुटुराहरू छन्। जसलाई खोल्ने हिम्मतसम्म पनि सरकारसँग छैन।

बैंकले अनाधिकृत ब्याज जोडेको हो भने त्यसलाई सच्याउन सकिन्छ। नियम कानुनले दिँदैन भने उनको मेडिकल कलेज भत्काइदिए हुन्छ। सम्पत्ति त त्यो पनि हो, ऋण चुक्ता गर्न त्यसलाई लिलाम गरिदिए हुन्छ। यी लाख आम मान्छेका कुरा हुन्, जो अहिले एउटा दुर्गा प्रसाईंका एकै बोलीमा झोलीकुम्ला बोकेर राजधानी आउन कम्मर कसेका छन्।

उनीहरूलाई थाहा छैन, अब के हुन्छ ? तर पनि खाली खुट्टै हजार माइलको यात्रा तय गर्न उनीहरू तयार छन्। दुर्गा प्रसाईंले राजा फर्काउलान् कि व्यवस्था पल्टाउलान् ? यति ठूलो प्रश्नको जवाफ उनीहरूले खोजेका छैनन्। तर पनि एउटा दुर्गा प्रसाईंको एक आवाजमा किन देशभरका मान्छे राजधानी घेर्न ओरिइरहेका छन् ? यसको जवाफ यिनै प्रचण्ड, ओली र देउवाहरूसँगै छ। वा भए पनि उनीहरूले भन्न सकिरहेका छैनन्।

एउटा दुर्गा प्रसाईंले हल्लाइरहेको सिङ्गो ‘राज्यसत्ता’
दुर्गा प्रसाईं आफैँलाई पनि थाहा छ, गाउँगाउँबाट ल्याएका मान्छे दुईरचार दिन काठमाडौँमा राख्दैमा राजा आउने छैनन्, यो व्यवस्था उल्टिने छैन।

तर यो कुरा चाहिँ प्रस्टसँग सबैलाई थाहा छ कि, आज चामलसामल कुटुरो पारेर राजधानी घेर्न आउने यस्तै भुँइमान्छेहरूको शक्तिले राजतन्त्रको अन्त्य भएको हो। र, जुन ‘व्यवस्था’मा प्रचण्ड, ओली र देउवाहरूले राज गरिरहेका छन्, त्यो यस्तै खाली खुट्टा हजार माइलको यात्रा नापेका यस्तै पाइलाहरूले ल्याएको गणतन्त्र हो।

‘जनताद्वारा जनताकै लागि जनताले गर्ने शासन’लाई लोकतन्त्रको परिभाषामा जसरी साँघुरो गरी कसिएको छ र, जनताका नाममा जसरी केही थान नेताहरूले आफ्नो र आफ्ना पुस्तैनी विरासतको राजनीति थाम्ने अभीष्ट पालेका छन्, यो त्यसकै प्रतिफल हो।

सिधा भाषामा भन्दा यो आम नागरिकमा उम्लिरहेको निराशाको बिम्ब हो, जसलाई दुर्गा प्रसाईंले आफ्नो ऐनामा सरकारलाई देखाउन खोजिरहेका छन्। र, धुलो लागेको यो ऐना पुछिदिने काम पनि यिनै प्रचण्ड, ओली र देउवाहरूकै करामत हो। जसले यो समाजमा दुर्गा प्रसाईंहरू जन्माइरहेका छन्। फरक यत्ति हो, दुर्गा प्रसाईं आज त्यस्तै भुँइमान्छेहरूको भावनाको भेल बगाउन उद्दत छन्। ओलीहरूको ‘ईगो’ पोख्नलाई त महेश बस्नेतहरू नै काफी छन्, तरिका अलिकति फरक होला, संस्कार त दुर्गा प्रसाईंकै पाएका हुन् उनीहरूले पनि।

यो भीड कहाँ गएर थामिएला ? दुर्गा प्रसाईंका पाइला कहाँ गएर रोकिएलान्रु यसको प्रारम्भिक जवाफ सरकारले दिइसकेको छ, राजधानीलाई महिनौँ निषेध गरेर। यस्तै हर्कतले हो, ज्ञानेन्द्रका पालि २४० वर्षीय राजतन्त्रको धरोहर ढलेको।

खासमा प्रहरीले निषेधाज्ञाको नाममा राजधानी आउन खोज्ने नागरिकका झोलीकुटुरा खानतलास गरेको होइन, बरु सरकार आफ्नो डरका पोकाहरू उसैगरी पछारिरहेको छ, फगत एउटा दुर्गा प्रसाईंको डरमा।

राजनीति शास्त्रले एउटा अध्यायलाई सधैँ विवादित र बहसमै छोडेको छ– राजनीतिले समाज डोर्‍याउँछ कि समाजले राजनीतिको बाटो निर्क्योल गर्छ ?

तथ्य त के हो भने, नेपाली राजनीतिको हरेक ऐतिहासिक मोडमा समाजले नै राजनीतिको बाटो सोझ्याइदिएको छ। दुर्गा प्रसाईंले राजधानी भित्र्याएका यी भुँइमान्छेका ताँतीलाई सरकार अनि राजनीतिक दलले फगत ‘भीड’को नाम दिएर मात्रै कमजोर नठान्दा हुन्छ, यस्तै मान्छेले पल्टाइदिएका राजनीतिका ऐतिहासिक पानाहरू अझै मैला भइसकेका छैनन्।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्