‘मैले भोगेको युरोप’ विमोचन – Kanika Khabar
Friday, February 14Nepali News Portal

‘मैले भोगेको युरोप’ विमोचन

    मा प्रकाशित

गाेबिन्द खड्का 

दाङ, १० मङ्सिर

 अवसरको खोजीमा १४ वर्ष विदेशमा बिताउँदाका कहानी ‘मैले भोगेको युरोप’ पुस्तकका बारेमा लेखक मित्रलाल पार्देले बोल्न थाल्नुभयो । कतै आक्रोश र कतै वेदनाको सन्देश दिने भावभंगी थियो । त्यो कष्ट असह्य भएपछि आमा यामादेवी चश्मा फुकालेरै आँशु पुछ्न थाल्नुभयो ।

उपस्थिति उल्लेख्य थियो । लेखककी आमाले जस्तै आँसु खसाल्न नसके पनि सिंगै हलको ध्यान वक्तातिरै केन्द्रित भयोे । लेखकले गण्यमान्य भद्र भलाद्मी भन्नेहरुबाटै दुःख पाएको गुनासो पोख्नुभयो । ‘उद्योग खोल्छु, उच्च शिक्षा अध्ययन गर्छु भन्दा ऋण पाइँदैन’– पार्देले भन्नुभयो– ‘विदेश जान्छु भन्दा लाखौं निस्किन्छ ।’ उहाँले विदेशमा वियरका बोतल टिप्नेदेखि अनेक काम गरेका सुनाउनुभयो । तर त्यहाँ डाक्टर होस् कि फोहोर टिप्नेको एउटै सम्मान हुन्छ । काम गर्दा ग्लानी हुन्न ।

‘भुइँमान्छेको भोगाइको मार्मिक दस्तावेज हो’– पुस्तकका समीक्षक राप्ती साहित्य परिषदका केन्द्रीय अध्यक्ष डा. टीकाराम उदासीले भन्नुभयो– ‘विदेश जान तम्तयार भएका युवापिढीले एक पटक पढ्नुस् ।’ उहाँका अनुसार आत्मबृत्तान्त होइन आत्मगन्थन छ । युरोपका अ‘ँध्यारा कुरा छन् । नेपालका विकृतिको तुलना छ । कतै पनि नढाँटेर लेखिएको लेखकको खुला किताव हो । विदेशको विकल्प छैन भनेर खुट्टा उचालेकोले पढ्यो भने पनि स्वदेशमै जाति भनेर हच्किन्छ । राप्ती साहित्य परिषद् दाङ शाखा अध्यक्ष दीपक शर्मा (समीर) को अध्यक्षता एवं वरिष्ठ साहित्यकार समालोचक डा. अमर गिरीको प्रमुख आतिथ्यतामा शनिबार घोराहीमा पुस्तक विमोचन गरिएको थियो । परिषद्ले लेखकलाई कदरपत्रले सम्मान गरेको थियो । विशिष्ट अतिथि प्राज्ञ डा. गोविन्द आचार्य, लेखकका पिता प्रेमनारायण र माता यामादेवीलगायतले पुस्तक विमोचन गर्नुभएको थियो ।

यो आत्मबृत्तान्त ६० उपशीर्षकमा छ । एक सय ४६ पृष्ठको पुस्तकमा लेखकले नेपालमा गरिएका सामाजिक काम, विदेशमा भोगेका अनुभूति र पारिवारिक गतिविधि समेट्नुभएको शुभकामना मन्तव्य दिने वक्ताहरुले बताउनुभएको थियो । कार्यक्रममा स्वागत परिषद्का शाखा कोषाध्यक्ष यम रेग्मीले र सञ्चालन सचिव प्रकाश केसीले गर्नुभएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्