दाङ, ११ मङ्सिर ।
दाङमा जिल्ला प्रशासन कार्यालयसहित लमही र तुलसीपुर ईलाका प्रशासन कार्यालयमार्फत अहिलेसम्म राष्ट्रिय परिचय पत्रका लागि आवेदन दिनेहरूको संख्या ३ लाख बढी रहेका छन् ।
३ लाख बढीले राष्ट्रिय परिचय पत्रकाे आवेदन दिए पनि परिचयपत्र लैजानेहरूको संख्या भने अहिलेसम्म ३ हजार मात्रै रहेकाे छ ।
३ लाख २९ हजार ९ सय २७ आवेदन मध्य अहिलेसम्म करिब ३२ हजार जनाको राष्ट्रिय परिचय पत्र जिल्ला प्रशासन कार्यालयमा आइपुगेको छ । ३२ हजारमध्ये ३ हजार ९८ जनाले मात्रै राष्ट्रिय परिचयपत्र लगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
राष्ट्रिय परिचयपत्रका लागि जिल्ला प्रशासन कार्यालयमा तीन वर्षको अवधिमा आवेदन दिनेहरूको संख्या ४२ हजार बढी छ ।
२०७७ साल मंसिर ४ गतेदेखि हालसम्म जिल्ला प्रशासन कार्यालय दाङमार्फत राष्ट्रिय परिचयपत्रका लागि ४२ हजार ६ सय ६९ जनाले आवेदन दिएको तथ्याङ्क प्रशासनसँग छ ।
राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएका ४२ हजार ६ सय ६९ जनामध्ये करिब ३२ हजार जनाको राष्ट्रिय परिचयपत्र जिल्ला प्रशासन कार्यालयमा आइपुगेको प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयमा आइपुगेका ३२ हजार राष्ट्रिय परिचयपत्रमध्ये १७ हजार जनालाई जिल्ला प्रशासन कार्यालय दाङले साउन महिनामा राष्ट्रिय परिचयपत्र आइपुगेको भन्दै परिचयपत्र लिन आउनका लागि ‘मोबाइल म्यासेज’ पनि पठाएको छ । तर म्यासेज पठाइएका १७ हजारमध्ये हालसम्म जिल्ला प्रशासन कार्यालयबाट तीन हजार ९८ जनाले मात्रै परिचयपत्र लगेका छन् ।
जिल्ला प्रशासन कार्यालय दाङका नायव सुव्वा कुवेरजंग खड्काकाअनुसार राष्ट्रिय परिचयपत्र बनाउनेहरूको संख्या अत्यधिक छ तर परिचयपत्र लैजानेहरूको संख्या भने ज्यादै न्यून छ ।
राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएका ४२ हजारमध्ये ३२ हजार जनाको राष्ट्रिय परिचयपत्र जिल्ला प्रशासन कार्यालयमा आइपुगेको,नायव सुब्बा खड्काले बताए ।
जिल्ला प्रशासन कार्यालयका अनुसार पछिल्लो समय कार्यालयमा दैनिक करिब एक सय जना राष्ट्रिय परिचयपत्रका लागि नयाँ आवेदन दिन तथा परिचयपत्र लिनका लागि आउने गरेको बताए ।
त्यसमध्ये करिब ६०/७० जना आवेदन दिने र २०/३० जना परिचयपत्र लिनेको संख्या हुने गरेको छ ।
राष्ट्रिय परिचयपत्र बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा भीडभाड बढेपछि मंसिर ११ गतेदेखि लागु हुनेगरी जिल्ला प्रशासन कार्यालय दाङले बिहान ८ बजेदेखि नै सेवा दिन थालेको प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी दिएका छन् ।
सरकारले राहदानी बनाउनु अघि राष्ट्रिय परिचयपत्र दर्तालाई अनिवार्य गरेपछि पछिल्लो समय परिचयपत्र बनाउनेको भीड हुने गरेको प्रमुख जिल्ला अधिकारी सुवेदीले बताए । जिल्ला प्रशासन कार्यालयसँगै तुलसीपुर र लमहीमा रहेका ईलाका प्रशासन कार्यालयहरूमार्फत पनि राष्ट्रिय परिचयपत्रका लागि आवेदन लिने गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयबाट ४२ हजार ६ सय ६९, ईलाका प्रशासन कार्यालय लमहीबाट २५ हजार १ सय ६९, ईलाका प्रशासन कार्यालय तुलसीपुरबाट ४६ हजार ९ सय ८४ जना र घुम्ती सेवामार्फत २ लाख १५ हजार १ सय ५ जना गरी अहिलेसम्म ३ लाख २९ हजार ९ सय २७ जनाले राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएका छन् ।
ईलाका प्रशासन कार्यालय लमही र तुलसीपुरबाट आवेदन दिएकाहरूको भने अहिलेसम्म कसैको पनि परिचयपत्र आइ नपुगेको ईलाका प्रशासन कार्यालयहरुले जनाएका छन् ।


