काठमाडौं, १३ मङ्सिर ।
भोलिदेखि मंसिर २६ गतेसम्म चल्ने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) हुँदै छ । सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज संयुक्त अरब इमिरेट्स (युएई) जाने भएका हुन् ।
मंसिर १५ र १६ गते सम्मेलनमा सहभागी राज्य सरकार र प्रमुखहरुले सम्बोधन गर्ने कार्यतालिका छ । प्रधानमन्त्री दाहालले मंसिर १६ गते शनिबार सम्मेलनलाई सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सम्मेलनमा नेपालले जलवायु अनुकूलनमा थप प्रतिबद्धता र कार्यान्वयन, जलवायु परिवर्तन न्यूनीकरण, जलवायु वित्त, हानी तथा नोक्सानी, पेरिस सम्झौताको विश्वव्यापी प्रगति समीक्षा, पर्वतीय राष्ट्रहरूका समस्याको पहिचान र सम्बोधनका विषयलाई महत्वका साथ उठाउने छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले विभिन्न साइडलाइन वार्ता र उच्चस्तरीय भेटवार्तासमेत गर्ने कार्यक्रम रहेको छ ।