गीतलाई साहित्यको एक लोकप्रिय र प्रभावशाली विधा मानिन्छ । गीतले मानव मस्तिष्कमा अत्यन्त गहिरो छाप छाड्न सक्ने तागत राख्दछ साथै यो कुनै पनि व्यक्तिको भावनात्मक अंशसँग पनि नजिकैको सम्बन्ध राख्दछ । गीत अत्यन्त प्राचीन विधा भए तापनि गीत रेकर्डिङ गरेर विभिन्न माध्यमबाट प्रशारण हुन थालेको समयलाई गीतको औपचारिक सुरुआत मान्न सकिन्छ । नेपालमा झन् यसको औपचारिक इतिहास रेडियो नेपालको स्थापना भएपछि मात्र मानिन्छ ।
नेपाली गीत संगीतको आकाशमा आधुनिक सुगम संगीतलाई बढी महत्त्वका साथ मूल्याङ्कन गरिन्छ । हुन त सबै प्रकार नेपाली गीतहरुको आफ्नै महत्त्व त छँदै छ । शब्द, संगीत र स्वरको मिहिन समिश्रणले गर्दा आधुनिक सुगम संगीत बढी भाषा, साहित्य, अर्थ र समवेदनाको हिसाबले पनि सशक्त भएको होला । हुन त गाइएको गीत सुन्न लायक बन्नलाई मुख्य गरी शब्द , संगीत र स्वरको अलि बढी महत्त्व हुने गर्दछ । त्यसो भन्दैमा गीतसँग जोडिएर आउने अरु प्राविधिक कर्महरुलाई कम महत्त्वले हेरिएको चाहिँ होइन । तर हरेक देशको हरेक भाषाको गीतमा सबैभन्दा बढी चर्चा भने गायक (स्वर ) को हुने कुरालाई नकार्न सकिन्न ।
नेपाली आधुनिक सुगम संगीतमा सबैभन्दा बढी महत्वका साथ लिइने नाम स्वर सम्राट नारायण गोपालकै हो। उनको नामलाई नेपाली सुगम संगीतको प्रयायको रूपमा लिने गरिन्छ । संख्यात्मक रूपमा थोरै गीत गाएर पनि यति धेरै प्रसिद्धि कमाएका र मूल गायकका रूपमा मूल्याङ्कन गरिएका गायक उनै हुन् । विश्वको संगीत इतिहासमा यो सायद अनौठो प्रमाण हुन सक्छ। नारायण गोपाल गायकका रूपमा किन यति धेरै प्रिय एवम् प्रसिद्ध भए भन्ने तथ्य अध्ययन गर्दा धेरै तथ्यगत प्रमाण पाउन सकिन्छ । सबैभन्दा महत्त्वपूर्ण प्रमाण उनको गायकीमा समर्पणको भाव प्रशस्त पाइन्छ । कुनै पनि गीतलाई उनले गायकले गाएको जस्तो नभएर स्वनिर्मित जस्तो बनाइदिने तागत राख्दछन्। गायन कलाको माध्यमद्वारा उनले गीतलाई यसरी प्रस्तुत गर्छन् कि हरेक गीत प्राण भरिएर जिउँदो भएर आए झैं प्रतीत हुन्छ । उनी नेपाली आधुनिक सुगम संगीतका मानक गायक मात्र होइन कि उनको स्वर उनको गलाबाट नआएर ब्रह्माण्डबाट आएको नाद झै लाग्दछ। नेपाली कला र गलाका क्षेत्रमा अनुसन्धान गर्ने र कलम चलाउने मान्छेका लागि नारायण गोपालको स्वर एक महत्वपूर्ण प्रयोगशाला हो जुन जहिले पनि ताजा र नौलो रहिरहने छ।
गीतको धार र श्रोताको स्वादका कारणले गीतलाई गतिशील विधाका रूपमा पनि हेरिन्छ । एक प्रकारले आइरहेका गीत तुरुन्तै फेरि अर्को धारमा परिवर्तन हुन समय लादैन । यो स्वभाविक पनि हो । हरेक पुस्ताको संगीतको धारणा र स्वाद फरक फरक पनि हुनसक्छ । तर जुनसुकै पुस्ता र जुनसुकै संगीतको धार आए पनि नारायण गोपालको स्वर र गायकी कहिले पनि पुरानो र बिरानो लाग्ने छैन । हरेक युग र हरेक युगका संगीतका पारखीका नजरमा सदावहार गायक रूपमा लिइने महान गायक नारायण गोपालप्रति हार्दिक श्रद्धा सुमन ।
लेखक नेपाली आधुनिक सुगम सङ्गीतका प्रसिद्ध गीतकार हुन् ।