देवीकोटमा प्याराग्लाइडिङ उडेपछि….. – Kanika Khabar
Friday, February 23Nepali News Portal

देवीकोटमा प्याराग्लाइडिङ उडेपछि…..

    मा प्रकाशित

गाेविन्द खड्का ।

देउखुरी । आँगनको डिलमा बसेर ७६ वर्षीया कौसिला खैकला मगर र ६९ वर्षीया मनि सुनार दक्षिणी आकाश हेरिरहनुभएको थियो । उहाँहरूको नजरतिर चार पाँचवटा प्याराग्लाइडिङ चिल जस्तै उडिरहेका थिए । स्थानीय देवी प्राथमिक विद्यालयमा विदा दिइएको थियो । मोबाइल साथमा हुने युवापुस्ता उडान स्थलमा झुप्पो लागेर फोटो र भिडियो कैद गरिरहेका थिए । वडाध्यक्ष रिमबहादुर सुनारी मगरका अनुसार धेरैले त्यो दिनको मेला विसाएर उडान हेर्न आएका थिए ।

‘कस्तो डरमर्नु, कसरी उडेका होलान् ?’ यस्तै प्रश्न गरेर हरेक उडानमा उत्सुकता पोखिरहेका थिए । त्यसदिन बाबु एडभेन्चर्सले छवटा हेभी उडान गरेको थियो । स्लो फ्लाइट दिनभरीजसो नै चलिरहेको थियो । बिहान सबेरैदेखि रिडी राप्तीका प्रबन्ध निर्देशक मनिराज पुनको नेतृत्वमा झाडी सफाइदेखि फ्लाइटस्थलको प्रबन्ध मिलाइएको थियो । त्यस क्षेत्रमा पहिला पनि उडान भएको र सबै अनुभव गरेको विश्व कीर्तिमानी प्याराग्लाइडर सानोबाबु सुनुवारको नेतृत्वमा प्यारग्लाइडिङ गरिएको हो । एकैपटक तीनवटाका दरले उडान गरिएको थियो ।

उद्घाटन समारोहको अवसरमा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती (वसन्त) पहिलो यात्री बन्नुभयो । विदेशबाट सिक्न आएका जर्मनीका फिलिप र हेनस तथा पोल्याण्डका मोरिका पनि थिए । ‘सामान्य सोचेको थिएँ । आजको दिन महत्वपुर्ण ऐतिहासिक रह्यो । साहसिक खेल (प्याराग्लाइडिङ) उड्न पाइयो’– राप्ती गाउँपालिका ४ नम्बर वडाको सुन्दरपुर अवतरणपछि सभामुख घर्तीले भन्नुभयो– ‘हामी उड्न पाइम रमाइलो भयो । त्यसैबेला विद्यार्थीले हामी उड्न पाइन्छ कि पाइन्न भनी जिज्ञासा राखेका थिए । पाइलट बन्न पाइन्छ कि पाइन्न भन्दै प्रश्न गरे ।

राप्ती एग्रो रिसोर्ट स्थापना गर्न प्रालिले देवीकोटमा ३० कट्ठा जमिन खरिद गरेको छ । रिसोर्ट शिलान्याससँगै प्याराग्लाइडिङको उद्घाटन पनि गरियो । ‘ऐतिहासिक उल्लेख्य काम भएको छ । हाम्रो क्षेत्रका लागि ठूलो शुरुवात भएको छ ।’ त्यसैबेला दोस्रो उडान भर्नुभएका रिडी ग्रुपका अध्यक्ष  मानबहादुर बुढा मगरले भन्नुभयो– ‘आकाशको व्यापार शुरु गरेका छौं । आकाश पुगेर जमिन हेर्दा कस्तो हुँदोरहेछ अनुभव गर्न पायौं ।’ उहाँले भनेजस्तै आश्चर्य हेर्न धेरै सर्वसाधारण र विद्यार्थी उडान तथा अवतरण स्थलमा जम्मा भएका थिए ।

‘शुरुमा डर लाग्यो । उडेपछि पाइलटले तान्ने डोरी फुस्केछ, डोरी नै भेटिन्न अध्यक्षज्यू भन्नुभयो । मैले उहाँको मुटु छामें १२० देखि १४० गतिमा धड्किरहेको थियो’– राप्ती गाउँपालिकामा अध्यक्ष प्रकाश विष्टले अनुभव सुनाउँदै भन्नुभयो– ‘साढे तीन वर्ष यतै हुन्छ क्या हो जस्तो भयो । त्यसबेला भगवान सम्झिएँ । अफ्ठेरो परेकै बेला भगवानलाई ढोग्नुपर्ने रहेछ ।’ बस भए पो रोक्नुस् । साइड दिनुस् भन्नु । आकाशको कुरा छ । पाइलटलाई तपाइँ प्रफेक्ट लागेन है भन्दा, होइन सर सय बढी उडाएको अनुभव छ भन्नुभयो । त्यतिमा मात्रै सीमित रहेन । ल्याण्ड गर्दा पनि काँडाका घारीमा हाल्नुभयो । अरु जस्तो खाली जमिनमा सहज अवतरण हुन सकेन । कसैको लागि राम्रो गरिएको थियो होला र बचायो ।’ यसरी अनुभव सुनाउनुभयो ।

अब देवीकोटमा नियमित उडान गर्ने बाबु एडभेन्चर्सले जनाएको छ । पाइलट व्यवस्था गर्ने, सरकारी दर भन्दा ५० प्रतिशतसम्म छुट दिएर पनि सञ्चालन गर्ने प्रबन्धक सानो बाबु सुनुवारको भनाइ छ । आकाशमा चरा जस्तै उड्ने अवसर दिने भएको छ । चाहेपछि असम्भव केही छैन भन्ने सावित भएको छ । ‘अहिले शुरुवात गरेको महसुस गरेको छु’– गिनिज बुकमा नाम लेखाउन सफल प्याराग्लाइडर सुनुवारले भन्नुभयो– ‘न्वारान भयो काम गरेर देखाउन बाँकी छ ।’ उहाँको यहि भनाइ कार्यान्वनमा आयो भने विद्यार्थीको जिज्ञासाको जवाफ मिल्नेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्