दाङ, १८ फागुन ।
दाङको घोराहीस्थित मेचीकाली सेकेन्डरी बोर्डिङ स्कुलमा किड्स ओलम्प्याड सम्पन्न भएको छ । आज शुक्रबार विद्यालयले एक कार्यक्रमको आयोजना गरी किड्स ओलम्प्याड सम्पन्न गरेको हो ।
कार्यक्रममा प्रि प्राइमरी तहका विद्यार्थीहरू सहभागी भएका थिए । कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक नृत्यका साथै बल कलेक्टिङ, म्याथ रेस, पजल, पिक्चर म्याचिङ, बल पासिङ लगायतका खेल भएका थिए । कार्यक्रममा विद्यालयका विद्यार्थीहरूको समुहले नृत्य प्रस्तुत गरेका थिए ।
खेलमा सहभागी भएका सबै विद्यार्थीहरूलाई विजयी घोषणा गरिएको थियो । विजेताहरूलाई मेडल, प्रमाणपत्र तथा ट्रफी प्रदान गरिएको थियो । सहभागी सबै विजेता हुने कार्यक्रम आयोजना गरेकोमा वक्ताहरूले विद्यालयप्रति धन्यवाद प्रकट गरेका थिए।
यसैबीच विद्यालयले फुड फेस्टिवल कार्यक्रम पनि सम्पन्न गरेको छ । कक्षा ८ मा अध्ययनरत विद्यार्थीले फुड फेस्टिवलमा ढिक्री, सेल रोटी, रसवरी, पानी पुरी,चटपटे, मम, आलु चप, अचार लगायतका परिकार बनाएका थिए । फुड फेस्टिवलमा विद्यार्थीहरूले प्रत्यक्ष व्यापार समेत गरेका थिए । कक्षा ८ को स्थानीय पाठ्यक्रमको विषयको प्रयोगात्मक कक्षा लागि फुड फेस्टिवल आयोजना गरिएको विद्यालयका इन्चार्ज नवराज खत्रीले बताए । साथै फुड फेस्टिवलबाट विद्यार्थीहरूले ५० हजार बराबरको आम्दानी गरेको र आम्दानी रकमलाई सामाजिक कार्यमा लगाउने पनि इन्चार्ज खत्रीले बताए ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष धर्मबहादुर केसीको अध्यक्षता तथा प्याब्सन लुम्बिनी प्रदेशका सल्लाहकार महेन्द्र अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा घोराही नगर प्याब्सनका अध्यक्ष बीरेन्द्र चन्द, शिक्षक अभिभावक संघका अध्यक्ष मौसम आचार्य र विकास नगर टोल समितिका अध्यक्ष बेचन वली लगायतले मन्तव्य राखेका थिए ।
विद्यालयका प्रिन्सिपल चक्रबहादुर रावतको स्वागत मन्तव्यबाट शुभारम्म भएको कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षिका सविता पाण्डेले गरेकी थिइन् ।