सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री नियुक्तविरुद्ध सर्वोच्चमा रिट – Kanika Khabar
Wednesday, May 22Nepali News Portal

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री नियुक्तविरुद्ध सर्वोच्चमा रिट

    मा प्रकाशित

काठमाडौँ, १० वैशाख ।
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्तविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । मुख्यमन्त्रीमा दीर्घ सोडारीको नियुक्तिविरुद्ध नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सर्वोच्च अदालतमा रिट दायर गरेको हो।

नेकपा एकीकृत समाजवादी प्रदेश संसदीय दलका नेता सोडारीको मुख्यमन्त्री नियुक्ति बदर गर्न माग गर्दै नाउपाको रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरीले आइतबार सर्वोच्चमा रिट दायर गरेका छन्।

चौधरीलेआफूले बहुमत सांसदको समर्थनसहित दाबी पेस गरेकाले मुख्यमन्त्री नियुक्त गर्नुपर्ने जिकिर गर्दै रिट दायर गरेका छन्।

तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ (२) अनुसार सरकार गठनका लागि दाबी पेस गर्न २ वैशाखसम्म समय दिएका थिए। सांसद चौधरीले नेपाली काङ्ग्रेस र एकीकृत समाजवादीका संसदीय दलको नेताको समर्थनसहित २ वैशाखमा दाबी पेस गरेका थिए।

नाउपाका लक्ष्मणकिशोर र कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी गरेपछि प्रदेश प्रमुख मियाँले दुवै दाबीलाई अस्वीकार गर्दै फेरि दुई दिनको समय दिएर सरकार बनाउन दाबी गर्न आह्वान गरेका थिए।

त्यसपछि सोडारीले यसअघि नाउपाका लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिँदै एमाले, माओवादी, नाउपाको रन्जिता पक्षको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरे र प्रदेश प्रमुखले उनलाई बैशाख ६ गते मुख्यमन्त्री नियुक्त गरेका थिए।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्