काठमाडौँ, २ जेठ ।
नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ।
आज बुधबार उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौँको आदेश उल्टाउँदै बलात्कार मुद्दामा सफाइ दिए लगत्तै क्यानले उनको निलम्बन फुकुवा गरेको हो।
निलम्बन फकुवा भएसँगै लामिछानेले सबै प्रकारका घरेलु तथा अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाउन पाउने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले गत १ सम्म टोली घोषणाका लागि समय दिएको थियो। आईसीसीको निर्देशनअनुसार नेपाल क्रिकेट संघ (क्यान) ले १५ सदस्यीय टोली घोषणा गरिसकेको छ ।
उच्च अदालतबाट सफाइ पाए र क्याबाट निलम्बन फुकुवापछि सन्दीपले आगामी टी–२० विश्वकप खेल्न पाउने भएका छन् ।
विश्वकपका लागि यसअघि नै नेपालले टोली घोषणा गरे पनि मुनासिव कारण खुलाएर टोलीको सदस्य हेरफेर गर्न पाउँछ । त्यसका लागि आईसीसीले समय पनि दिएको छ ।
आईसीसीले विश्वकपमा सहभागी राष्ट्रहरूलाई उचित कारण देखाएर टोलीमा हेरफेर गर्न मे २४ सम्मको समय दिएको छ । त्यसका लागि नेपालसँग ९ दिन समय छ ।