दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ अम्बासका एक दम्पत्ती मौरीले डसेर घाइते भएका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ अम्बासका ६२ वर्षीय सुपबहादुर दमाई र ६१ वर्षीया उनकै श्रीमती लिलावती दमाईलाई आफन्तीको घरबाट घरमा जाने क्रममा आज दिउँसो दमारगाउँ–अम्बास सडकखण्डको भ्युडरगैह्राको जंगलमा मौरीले डसेको अवस्थामा फेला पारेको उपमहानगरका मेयर टिकाराम खड्काले जानकारी दिए ।
वृद्ध दम्पत्तीलाई जङ्गलमा घाइते अवस्थामा फेला पारेपछि उपमहानगर प्रमुख खड्काले आफ्नै गाडीबाट उद्धार गरी उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगेको मेयरको सचिवालयले जनाएको छ । स्वकीय सचिव गोकर्ण पौडेलका अनुसार सबै उपचार खर्च उपमहानगरले ब्यहोर्ने छ ।