कनिका संवाददाता
साउन २, कालिकोट
हाब्रे संरक्षण परियोजना २०२० गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम कालिकोटमा सम्पन्न भएको छ । हिमालयन सामुदायिक स्रोत विकास केन्द्र कालिकोटको कार्यालयमा हिजो परामर्श बैठक तथा बार्षिक संस्थागत समिक्षा कार्यक्रम गरिएको हो । नेपाल लगायत भारत, भुटान, चीन र म्यानमार बर्माको हिमाली जङ्गलहरुमा पाइने हाब्रे (रेड पाण्डा) एउटा लजालु र रहस्यमय जनावर हो । पाण्डा नाम एउटै भएको सुनिएपनि चिनियाँ पाण्डा र रेड पाण्डा फरक फरक प्रजाति रहेको विज्ञ बताउँछन् । पछिल्लो २० बर्षमा हाब्रेको संख्या ५० प्रतिशतले घटेको पाइएको र यसको संख्या प्राकृतिक अवस्थामा १०,००० को हाराहारीमा रहेको पाइएको छ । वन विनाश र चोरी शिकारी तथा अवैध व्यापारले हाब्रेको अस्तित्व ठुलो संकटमा रहेको हुँदा संरक्षण गर्नुपर्ने सरोकारवालाले बताएका छन् । समुदायमा आधारति हाब्रे संरक्षण कार्यक्रम नेपालको १० वटा जिल्लामा सञ्चालन भइरहेको छ । इलाम, पाँचथर, ताप्लेजुङ, जुम्ला, जाजरकोट, कालिकोट, रुकुम –पूर्व),रुकुम (पश्चिम), रोल्पा र डोल्पा जिल्लामा यो कार्यक्रम सञ्चालन भइरहेको छ । नेपाल सरकार वन मन्त्रालय र रेड पाण्डा नेटववर्कले सन २०१६ मा गरेको राष्ट्रिय सर्बेक्षण अनुसार हाब्रे नेपालको २५ जिल्लामा पाइन्छ । रेड पाण्डा नेटवर्कले २५ मध्ये १० जिल्लामा काम गर्दै आएको छ ।
मा प्रकाशित